काठमाडौं। भाटभटेनी सुपरमार्केटको नाममा स्क्याम लिंक फैलिएको पाइएको छ । सामाजिक सञ्जाल फेसबुक लगायतमा  प्रयोगकर्तालाई नयाँ शाखा खुलेको भन्दै स्क्याम लिङ्क फैलाइएकाे हाे ।

सामाजिक सञ्जाल फेसबुकमा त्यस्ता लिङ्क क्लिक गर्न साथ आफ्ना फेसबुकका सबै साथीहरूलाई उक्त म्यासेज जाने गरी लिङ्कमा क्लिक गरेको खण्डमा भाटभेटनी सुपरमार्केटको जस्तो नक्कली वेबसाइटको इन्टरफेस देखिन्छ, जहाँ सबैभन्दा माथि 'बधाई' लेखिएको छ।

लिङ्क खुलेपछि उल्लेखित प्रश्नको उत्तर दिएको खण्डमा पाँच हजार रुपैयाँ जित्ने उल्लेख गरिएको छ । त्यसको तल भाटभेटनी सुपरमार्केटमा संलग्न व्यक्तिको फोटो राखिएको छ । त्यहाँ प्रयोगकर्तालाई विभिन्न प्रश्नहरू सोधिएको छ, जसको उत्तर दिएको खण्डमा उनीहरूले पाँच हजार रुपैयाँ जित्नसक्ने भनिएको छ ।

उक्त प्रश्नको उत्तर दिँदा ह्याकरले प्रयोगकर्ताको डिभाइसको एक्सेस पाउँछन् । प्रश्नहरू सजिलो भएकाले जोकोहीले उक्त प्रश्नको उत्तर दिन राजी हुन्छन् ।

त्यस्तै उक्त वेबसाइटमा तलतिर नक्कली प्रतिक्रिया राखिएको छ, जसले गर्दा प्रयोगकर्ता स्क्याममा पर्नसक्ने जोखिम बढी हुन्छ । यसरी प्रयोगकर्तालाई आफ्नो जालोमा पार्दै ह्याकर फिशिङ आक्रमण गर्छन् । यसबाट उनीहरूले बैंक तथा सामाजिक सञ्जालका अकाउन्ट ह्याक गर्नसक्ने साइबर सुरक्षा विज्ञ बताउँछन् ।

सामाजिक सञ्जालबाट सक्याम लिङ्क फैलिएपछि भाटभटेनी सुपरमार्केटले आधिकारिक रूपमा उक्त लिङ्क स्क्याम गर्न फैलाइएको भन्दै त्यस्ता लिङ्क नखोल्न आग्रह गरेको छ ।