काठमाडौं। निर्वाचन आयोगले आज बुधबारदेखि आगामी मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता २०७९ लागू गरेको छ। आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबारबाट निर्वाचन आचारसंहिता  लागू हुने जनाएको हो।

आगामी निर्वाचन स्वच्छता, निष्पक्षता, पारदर्शिता, तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नको लागि आचारसंहितालाई सबैले पालना गर्नुपर्ने आयोगले जनाएको छ। निर्वाचन आचार संहिताको परिच्छेद ३ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण उल्लेख छ। जसमा सरकार, मन्त्री र स्थानीय कार्यपालिकाका पदाधिकारीहरुले कुनै राजनीतिक दल वा उम्मेदवारहरुको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने उल्लेख छ।

तर निर्वाचनमा आफै उम्मेदवार भएका मन्त्री आफु उम्मेदवार भएको क्षेत्रमा प्रचार प्रसार गर्न पाउने भएपनि प्रचार प्रसारमा जाँदा सरकारी स्रोत साधनको प्रयोग गर्न पाउने छैनन्। त्यस्तै वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत बाहेक अन्य कार्यक्रम गर्न वा नीति, योजना वा कार्यक्रमको घोषणा, स्वीकृत र सञ्चालन गर्न पाउने छैनन्। तर सरुवा रोगको महामारी वा प्राकृतिक विपद सिर्जना भएमा आयोगको स्वीकृतिमा त्यस्ता काम गर्न पाइनेछ। साथै कुनै राजनीतिक पदको सिर्जना नियुक्ती भत्ता बृद्धि, आर्थिक सुविधा वा पुरस्कार प्रदान गर्न नहुने पनि आयोगले जनाएको छ।

निर्वाचनको काम बाहेक निर्वाचन सम्पन्न नभएसम्म सरकारले कर्मचारीको सरुवा समेत गर्न आचारसंहिताले बन्देज गरेको छ । साथै आयोगको अनुमतिमा मुलुकको प्रतिनिधित्व गरी विदेश भ्रमणमा जानबाहेक अन्य प्रयोजनका लागि बैदेशिक भ्रमणमा जान समेत सरकार र मन्त्रीहरुलाई बन्देज लाग्नेछ ।