काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पहिलोपटक ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता सुरु भएको छ । खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नका लागि आजदेखि प्रथम ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता सुरु भएको हो । लैनचौर खेल मैदानमा सुरु भएको उक्त प्रतियोगिताको काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा वडाध्यक्ष तिवारीले खेलकुदले खेलाडीलाई स्वस्थ्य राख्नुका साथै समाजलाई एकताबद्ध हुने सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा यस्ता खेलकुदलाई निरन्तरता दिन वडा कार्यालयले सहयोग गर्ने उहाँको भनाई थियो । वडाध्यक्ष तिवारीले लैनचौर खेल मैदानले मुलुकका लागि धेरै खेलाडी उत्पादन गरेको बताउँदै यस क्लबको संरक्षणका लागि लैनचौर युवा क्लब र एनसेलसँगको सहकार्यमा वडाले काम गरिरहेको उल्लेख गर्नुभयो ।

लैनचौर युवा क्लबका अध्यक्ष एवम् सामुदायिक प्रहरी सेवा केन्द्र ठमेलका अध्यक्ष रम्बा रजकले ठमेल क्षेत्रको पर्यटन विकासका लागि यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । एनसेलको सहयोगमा काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा निर्माण भएको उक्त खेलमैदान लैनचौर युवा क्लबले ठमेल पर्यटन भेट्रान्स फुटबल कपका लागि ठाउँ निःशुल्क उपलब्ध गराएको उहाँको भनाइ थियो ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले खेलकुद क्षेत्रलाई पर्यटनसँग जोड्दै ठमेल क्षेत्रमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । 

अहिले स्वदेशी खेलाडीलाई प्रतियोगितामा समावेश गरिए पनि आगामी दिनमा विदेशी खेलाडीलाई समेत बोलाएर यस्ता प्रतियोगिता आयोजना गर्ने उहाँको भनाइ थियो ।

प्रतियोगिताका संयोजक एवं परिषद्का उपाध्यक्ष प्रश्रयराज भण्डारीले तीन दिनसम्म चल्ने प्रतियोगितामा देशभरका १७ टिमको सहभागिता रहेको जानकारी दिनुभयो । प्रतियोगितामा ठमेल क्षेत्रका तीन टिम, डिल्लीबजार, सिन्धुपाल्चोक, मनाङ मस्र्याङ्दी, कैलाली, जोरपाटी, फ्रिडम फाइटर, बौद्ध, सङ्गम पोखरा, चाबहिल, चितवन, कोटेश्वर, कपन, लाजिम्पाटलगायत फुटबल टिमको सहभागिता रहेको छ ।

चालिस वर्ष उमेर कटेका खेलाडीको सहभागिता रहने उक्त खेलमा प्रथम हुने टिमलाई रु दुई लाख नगद, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई नगद रु एक लाख मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडी, धेरै गोल हान्ने खेलाडी र उत्कृष्ट गोलकिपरलाई जनही रु १० हजार र प्रमाणपत्र प्रदान गरिने परिषद्का महासचिव राजिव पाण्डेले जानकारी दिनुभयो ।