सिन्धुलीमाढी। नेकपा एमाले सिन्धुलीका अध्यक्ष कुमार बहादुर कार्कीले नोकरसाहीको अन्त्यका लागि पेसागत महासंघ गठन भएको बताएका छन्। सिन्धुलीमाढी स्थित पेसागत महासंघ सिन्धुलीको छैठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनु भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले समाजवाद निर्माण गर्ने आधार पेशागत महासंघको सक्रियतामा भरपर्ने भएकाले महासंघ चलायमान हुनुपर्नेमा जोड दिनु भयो। विगतमा पार्टी एकीकरण र विभाजनका संङ्क्रमणकालिन परिस्थितिमा पेसागत महासंघ चलायमान हुन नसकेको र अब महासंघ चलायमान हुनु विकल्प नरहेको समेत उहाँले बताउनु भएको छ।

त्यस्तै, अध्यक्ष कार्कीले सिन्धुली जिल्लाभित्र विभिन्न स्थानीय तहहरूमा पार्टीको ट्याग लागेकै कारणले कर्मचारीहरूले सास्ति खेप्नु परेको र त्यस्ता समस्याको समाधानमा आफू लागि परेको बताउनु भयो। कार्यक्रममा उहाँले त्यस्ता समस्याको समाधानमा पेसागत महासंघ एक ढिक्का भएर लाग्न समेत निर्देशन दिनु भयो।

नेकपा एमाले निकट पेसागत महासंघ सिन्धुलीको छैठौँ अधिवेशन सिन्धुलीमाढीमा शुक्रबार मल्लव अधिकारी दनुवारको संयोकत्व तथा नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष कुमार बहादुर कार्कीको प्रमुख आतिथ्यता र विभिन्न ८ घटन पेसागत संघको प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको छ।