यहाँ नेता बन्न पूँजिपति हुनु पर्दोरहेछ,
म चाहिँ सर्वहारा! सर्वहारा ! भनिरहेँ ।
कालोबजारी गरेर,
आर्जन गरेर सय रुपैयाँ सहयोग गरेको तस्बिर संञ्जालमा हाल्नु पर्दोरहेछ !
म चाहिँ भोको पेटलाई एक छाक टार्न रित्तो गोजीमा हात हाली हाली कतै छ कि? भनेर छामीरहेँ।
यहाँ सहयोग गर्दा पनि तस्बिर खिचेर, भिडियो बनायर
सामाजिक संञ्जालमा सहयोग गरे भन्दै हाल्नु पर्दोरहेछ !
म चाहिँ अनयासै गरिब, निमुखा र निर्धनको नैसर्गिक अधिकार,
स्वतन्त्रता र सम्प्रभुता जिन्दावाद भनिरहेँ।
यहाँ नेता बन्न कथित समाजसेवी हुनुपर्दो रहेछ,
म चाहिँ सर्वहारा, श्रमजीवी उन्मुक्तिको भाषण गरिरहेँ।
सपना र आश्वासनका पोकाहरु बाँडिरहनु पर्नेरहेछ ।
सरकारी बजेटका ढुकुटीबाट कतै बजेट परिहाले...
मैले पारेको, मेरै पार्टीले पारेको भन्नुपर्ने रहेछ....
म चाहिँ कतै मेरो नाम जोडीएला कि भनेर तर्कीरहेँ।
जनमतले निर्वाचित जनप्रतिनिधि कतै भेटे
भिष्म पितामा, ब्रह्ममा, विष्णु र महेश्वर त्रिलोक धारी तपाईं नै सर्वपरी,
सर्वपक्षीय जनप्रतिनिधि भन्नुपर्दा रहेछ !
म चाहिँ जनसेवक तिमी ,जन उत्तरदायी हुनु भन्दै उफ्रिरहेँ।
यहाँ बालकोट, खुमलटार, बुढानिलकण्ठ धाउनुपर्ने रहेछ!
म चाहिँ संगठन, कार्यकर्ता र जनता भन्दै गाउँ पसिरहेँ।
यहाँ माफियाको जञ्जाल भित्र सत्तामा हात हुनुपर्ने रहेछ
सेटिङ, दलाली र अवसरवादीको खुफिया हुनुपर्ने रहेछ!
गलत लाई सत्य, सत्य लाई गलत साबित गर्नु पर्नेरहेछ,
म चाहिँ मौलिक जनवाद नै हाम्रो साम्यवाद भनिरहेँ।
हाम्रो नेता, हाम्रो पार्टी प्राणभन्दा प्यारो छ भन्नू पर्ने रहेछ,
बा, काका, दाइ र मामाको साइनोमा जोडीनु पर्दोरहेछ !
हजार गलत गरुन् तर मेरो र आफन्त भन्नु पर्दा रहेछ,
म चाहिँ यसलाई गलत हो भन्दै खबरदार नेता भनीरहेँ ।
यहाँ नेता बन्न विकास निर्माण समितिमा बस्नु पर्ने रहेछ,
म चाहिँ अरबको गर्मीमा मेहनतको पसिना चुहाइ रहेँ .....