मिलन राई, रोङ इलाम । ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा इलामको रोङ गाउँपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोको अध्यक्षतामा गाउँपालिका उपाध्यक्ष बिष्णुमाया भुजेल, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दाहाल, सामाजिक विकास समितिका संयोजक एवम् वडा नम्बर ६ का वडाध्यक्ष सत्यम चौरासे राई,६ वटा वडाका वडाध्यक्षहरू, जनप्रतिनिधिहरुको आतिथ्य तथा शिक्षाप्रेमी बुद्धिजीवी, अवकाशप्राप्त शिक्षक, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक,विभिन्न राजनीतिक दलका व्यक्तित्व, विद्यार्थी, पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रम रोङ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रममा रोङ गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यरत रही अनिवार्य अवकाश भएका शिक्षकहरुलाई सम्मान गरिएको थियो भने गाउँपालिकामा माध्यमिक शिक्षा परीक्षा SEE मा उत्कृष्ट नतिजा ल्याउन सफल शान्ति निकेतन मा वि रोङ ३ का विद्यार्थी श्रद्धा भुजेललाई सम्मान गरिएको थियो । त्यसैगरी रोङ स्तरीय परीक्षा कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल शान्ति निकेतन मा वि रोङ ३ का प्रज्ञा राई र कक्षा ५ मा उत्कृष्ट नतिजा ल्याउन सफल मोतीराम मा वि रोङ ६ का सिमाना तामाङलाई समेत सम्मान गरिएको थियोे । यसै अवसरमा अन्तर विद्यालय आधारभूत तह कक्षा १-५ चित्रकला,कक्षा ६-८ निबन्ध लेखन तथा कक्षा ९-१० हाजिरी जवाफ प्रतियोगिता समेत सम्पन्न भएको छ ।
जसअनुसार चित्रकलामा शान्तिपुर मा वि रोङ २ प्रथम शान्ति निकेतन मा वि रोङ ३ द्वितीय, किसान जनहित आ वि तृतीय हुन सफल भएका छन् । त्यस्तै निबन्ध लेखन प्रतियोगितामा मोतिराम मा वि रोङ ६ प्रथम, विष्णुअमर आ वि रोङ २ द्वितीय र सरस्वती मा वि रोङ ४ तृतीय भएका छन् । हाजिरी जवाफमा कुवापानी मा वि रोङ ६ प्रथम, शान्तिपुर मा वि रोङ २ द्वितीय र उमामहेश्वर मा वि रोङ ६ तृतीय भएका छन् । गाउँपालिकाले विजेता विद्यार्थीहरुलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरेको छ । कार्यक्रम शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा शाखा प्रमुख श्रुतिकुमारी तामाङले सञ्चालन गर्नुभएको थियोे ।

