मिलन राई, २२ भदौ । मानव बेचबिखन विरूद्धको १६ औँ राष्ट्रिय दिवसको अवसरमा रोङ गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

युवा सशक्तीकरण सञ्जाल रोङको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले मानव बेचबिखन रोक्न आफू सचेत हुनु पर्ने र विद्यार्थीबाट गाउँ समाजमा सचेतना जगाउनु पर्ने बताउनु भयो ।

विद्यार्थी भनेको देशको कर्णधार भएकाले मानव बेचबिखन सम्बन्धी अहिलेदेखि नै सचेत रहे आगामी दिनमा मानव बेचबिखन रोक्न मदत पुग्ने अध्यक्ष स्याङ्बोले धारणा राख्नु भयो। युवा सशक्तीकरण सञ्जाल उपाध्यक्ष डाइमण्ड तिम्सिनाको अध्यक्षतामा सम्पन कार्यक्रममा ९ बर्ष सम्म वैदेशिक रोजगारी गरी फर्किनु भएकी साबित्रा प्याकुरेलले बिदेशमा भोग्नुपरेको दु:ख र अनुभव सुनाउदै कोही पनि बिदेश नजान सल्लाह दिनु भयो ।

कार्यक्रममा मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण सम्बन्धी ऐनमा कस्तो किसिमको सजाय र जरिवाना छ भन्ने बारेमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी नायब निरीक्षक सुरज रायमाझीले जानकारी गराउनु भयो । मानव बेचबिखनको हालको अवस्था र रोकथामको लागि गरिएको प्रयास को बारेमा माइती नेपाल पशुपतिनगरका सुपर भाइजर बिरेन्द्र गौतमले बताउनु भयो । युवा शसक्तिकरण सञ्जाल सचिव दिनेश निरौलाले स्वागत मन्तब्य राख्दै कार्यक्रमको औचित्य माथी प्रकाश पार्नु भएको थियो ।

गाउँपालिका अध्यक्ष स्याङ्बोले ब्यानर पढेर उत्घाट्न गर्नु भएको कार्यक्रम युवा सशक्तीकरण सञ्जालका उपाध्यक्ष राजेन्द्र खुलालले सञ्चालन गर्नु भएको थियो । अन्तरक्रियामा सहभागी हुँदै मानव अधिकार मञ्च नेपाल इलामका प्रतिनिधि तथा सामाजिक रुपान्तरणको लागि युवा कार्यक्रमका अभियन्ता सन्तोष मगरले मानव बेचबिखन हुने प्रकार कस्ता हुन्छ भनेर जानकारी गराउनु भएको थियो ।युवा शशक्तिकरण सञ्जालको आयोजना गाउँपालिकाको सहकार्य र मानव अधिकार मञ्च नेपाल इलामको समन्वयमा सम्पन्न कार्यक्रममा शान्ति निकेतन मा विका कक्षा ११ र १२मा अध्ययनरत विद्यार्थीहरू लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागी रहेको थियो ।