- दान बहादुर सुनार

मैले पनि २ बर्ष पहिलेदेखि टिकटक चलाउन थालेको थिए । मुख्यतः मैले २ वटा उद्देश्य राखी  टिकटक खोलेको थिए । पहिलो सांगितिक आनन्द मार्फत कामको तनाव कम गर्ने, दोस्रो टिकटकमा कानूनी सचेतनामूलक भिडियो पोष्ट गरी कानूनी जानकारी दिने । सुरुवाती चरणमा मैले सांगितिक भिडियोहरु बढी बनाए, किनकी मैले टिकटक प्रोफाईलमा फ्लोवर्स बढाएर बढी भन्दा बढी व्यक्तिहरुसँग सम्पर्कमा रहनु थियो । जब धेरै साथीहरु मेरो टिकटकमा जोडिए तबदेखि मैले कानूनी सचेतनामूलक भिडियो बनाउँदै पोष्ट गर्न थाले । त्यसपछि म भाइरल पनि भए। मेरो एउटै भिडियो ४/५ लाख भन्दा बढीले हेरे । ७/८ सय भन्दा बढी कानूनी प्रश्नहरु त कमेन्ट बक्समा आए। थुप्रै व्यक्तिहरुले कानूनी जानकारी लिनका लागि इन्बक्समा नम्बर मागे ।अधिकांश प्रश्नहरु पारीवारिक पीडा व्यथा र हिंसाबाट ग्रसित महिलाहरुकै हुन्थे । कैयन दिन त मैले राती २ बजेसम्म नसुतेर पनि कानूनी प्रश्नहरुको जवाफ दिए, पछि पछि त सयौँको संख्यामा इन्वक्समा प्रश्नहरु आउन थालेपछि मैले जवाफ दिन भ्याइन, मलाई डिस्टर्व महसुस भयो र मैले त्यो टिकटक एकाउन्ट बन्द गरेर सिमित साथीहरु मात्रै राखी नयाँ एकाउन्ट खोले । तर आजभोली त मलाई यो टिकटक देखेर विरक्त लाग्न थालेको छ । यसको सदुपयोग थोरै तर दुरुपयोग बढ्ता भैरहेको मैले देखिरहेको छु । 
बुँदागत रुपमा भन्नुपर्दा यसकारण टिकटक बन्दगर्नुपर्छ:- 

१.    टिकटकमा भाइरले हुने दौडमा के देखाउनुपर्छ र के देखाउनु पर्दैन सबै बिर्सिन थाले । परीवारमा बसेर हेर्नै नसकिने उश्रृङ्खल भिडियोहरु आउँदैछन् । हाम्रा रीति संस्कृति लोप हुँदै गइरहेका छन् । सरकारलाई मेरो आग्रह, छिट्टै टिकटक बन्द गरियोस् ।  
२.    दिनप्रति दिन अश्लिलता मात्रै बढ्दैछ । आज अलि अलि देखाउनेहरु विस्तारै सिमा नाघ्न थालेका छन् । संस्कार र सभ्यता हराउन थालेको छ । 
३.    महिलाले परपुरुषसँग र पुरुषले परस्त्रिसँग घण्टौ टिकटक लाइभमा बसेर जिस्किने मस्किने र हाँसो मजाक गर्ने प्रवृत्ति बढेका कारण दाम्पत्य सम्बन्ध दरार पैदा भैरहेको छ । यसै कारणले पनि अदालतमा डिभोर्सका मुद्दाहरु बढिरहेका छन् । 
४.    मैले कैयन पटक देखिरहेको छु, वैदेशिक रोजगारमा गएका केहि महिलाहरुले टिकटक लाइभमा बसेर सुन्नै नसकिने अन्तरंग अश्लिल शब्दहरु बोली इमोश्नल ब्ल्याकमेल गर्ने, गोप्य अंग देखाउन लाउने लगायतका दुष्कार्यहरु हाँकाहाँकी हुँदैछन् । 
५.    घण्टौ टिकटकमा समयखेर फाल्दा आर्थिक, सामाजिक र व्यवसायिक दृष्टकोणले नोक्सानी व्यहोर्नु परिरहेको छ।
६.    विद्यालय तथा क्याम्पस पढ्ने किशोर किशोरीहरु टिकटकको लतले पढाईमा एकदमै कमजोर भइरहेका छन्। पढ्नु भन्दा टिकटकमा भाइरल हुनु उनीहरुको प्राथमकिता पर्न थालेको छ । 
७.    सामाजिक र पारीवारिक सद्‌भाव, भलाकुसारी, आत्मियता, सामिप्यता र संस्कारहरु सबै हराउँदै छन् । हाम्रा परम्परागत रीति संस्कृति लोप हुँदै गइरहेका छन् । उच्छृङ्खला र अश्लिलताले प्रशय पाइरहेको छ । सरकारले छिट्टै टिकटक बन्द गर्ने निर्णय गरोस् ।  

सरकार भनेको हाम्रो अभिभावक हो। समाज सुधारक हो । संवैधानिक र कानूनी दायित्व कार्यान्वयनको अभिभारा बोकेको सरकारलले राज्यका नागरिकहरुको व्यवहार र शैलीप्रति पनि उत्तिकै चासो र चिन्ता व्यक्त गर्नुपर्छ । सामाजिक रीती संस्कृति, सभ्यता र संस्कार बिनाको मानवीय जीवन अस्तव्यस्त हुन जान्छ । समाजका समकालीन घट्नाक्रमको समयसान्दर्भिक रुपमा मूल्यांकन गर्दै गलत प्रवृत्तिको नियन्त्रण र नियमन गर्नुपर्छ । सामाजिक सञ्जालले निम्त्याएका विकृतिहरुको अनदेखा गरी सरकारले ध्यान नदिने हो भने हाम्रो सामाजिक संरचना र मानवीय जीवन अस्तव्यस्त हुन जान्छ । सँगैको छिमेकी राष्ट्र भारतले पनि टिकटक बन्द गरेको उदाहरण हामीसँग छ । तसर्थ सरकारलाई मेरो आग्रह छ, छिट्टै टिकटक बन्द गरियोस् । मनोरन्जनका अरु पनि तौर तरिका र साधनहरु छँदैछन् । असम्भव भन्ने पनि छैन । सभ्य समाज र सम्वृद्ध राष्ट्रको निर्माण गरौँ । धन्यवाद !!    

-लेखक नेपाल सरकारका कानून अधिकृत हुन् ।