काठमाडौं। आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गएराति काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भारी वर्षा भएको छ । 

आज दिउँसो देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेको पहाडी भू-भागहरूमा, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।