काठमाडौं । आज सोनाम ल्होछार तामाङ समुदायले मन्जुश्री सम्वत् २८५७ ‌औँ लाङ ल्हो (म्हो) (गोरू वर्ग) को रुपमा मनाएका छन्। हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले यो पर्व मनाउने गर्दछन्।

विभिन्न १२ वर्गमा ल्होसारलाई विभाजन गरिएको हुन्छ जसमा मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर पर्दछन्।

तामाङ समुदायको यस पर्वको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ। साथै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना समेत व्यक्त गरेका छन्।

के हो सोनाम ल्होछार ?

सोनाम ल्होछार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो। प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ बर्ष एकै दिन मनाइन्छ । ‘ल्होछार’ दुइ शब्द मिलेर बनेको छ।

जसको अर्थ ‘ल्हो’ अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने ‘छार’ वा ‘सार’को अर्थ नयाँ भन्ने हुन्छ। यसैले ल्होसारको अर्थ ‘नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ र, यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ । ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन्।

बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ। जस्तै: मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ। बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्‍याएर वर्ष गनिन्छ।