काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने उमेर हदका कारण आजदेखि सेवाबाट अनिवार्य अवकाश हुनुभएको छ ।

खरिदारदेखि सचिवसम्म २६ वर्ष दुई महिना निजामती सेवामा बिताउनुभएका सचिव न्यौपाने बुधबारदेखि सेवाबाट अवकाश हुनुभएको हो । मन्त्रालयमा आज आयोजित बिदाइ कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयको जिम्मेवारीमा छोटो अवधिमा काम गर्दा हार्दिकतापूर्ण रहेको उल्लेख गर्दै न्यौपानेको अनुभव र अनुभूतिहरु निजामती सेवाका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सचिव न्यौपानेको योग्यता क्षमतालाई देश विकासका लागि फेरि पनि उपयोग गरिने बताउनुभयो ।

सचिव न्यौपानेले निजामती सेवाबाट आफ्नो अवकाश जीवनको अर्को ‘टर्निङ प्वाइन्ट’ भएको भन्दै अवकाशपछिको जीवनलाई थप सक्रिय बनाउने बताउनुभयो । सचिव न्यौपानेले विभिन्न मन्त्रालय, महत्वपूर्ण निकायमा नेतृत्व गर्नुभयो । पर्यटन मन्त्रालयमा करिब आठ महिना सचिवको रुपमा काम गर्नुभयो । न्यौपाने सचिव पदको पाँचवर्षे सेवा अवधिबाट अवकाश लिनुभएको हो । उहाँको अवकाशपछि मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछानेलाई निमित्त सचिवको जिम्मेवारी दिइएको छ ।