सोनाम ल्होछारको अबसरमा मकवानपुरको बागमती गाउँपालिका वडा नं. २ राईगाउँमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको साँस्कृतिक पर्व २८५७ औ लाङ ल्हो (गाई बर्ग) सोनाम ल्होछारको अवसरमा फाल्गुन १ गते राईगाउँ युवा क्लबको आयोजनामा कार्यक्रम हुने भएको हो ।

साँस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याती प्राप्त बिभिन्न कलाकारहरुको बिशेष प्रस्तुती रहनुका साथै मकवानपुरका स्थानीय तामाङ कलाकारहरूको पनीे विभिन्न प्रस्तुती रहने क्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक छबि बम्जनले बताए ।

तामाङहरुको साँस्कृतिक पहिचान झल्कने कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु गायक मार्मिक लामा, सुरेश लामा, मदन घलान, फुलकुमार बम्जन, सुरज जिम्बा गायिका शशिकला मोक्तान, निर्मला घिसिङ्ग, रेश्मा बम्जन, सुजिता जिम्बा, नायिका सुनिता लुङ्गबा मोडल सुक्मित घिसिङ लगायतका कलाकारहरुले दर्शकलाई आफ्नो प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गर्ने छन् । गाउँपालिका अध्यक्ष सर्केश घलानले उद्घाटन गर्नु हुने कार्यक्रम मोडल तथा संचारकर्मी स्मारिका थिङ्ग संचालन गर्ने छिन् ।

के हो सोनाम ल्होछार ?

सोनाम ल्होछार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ बर्ष एकै दिन मनाइन्छ । ‘ल्होछार’ दुइ शब्द मिलेर बनेको छ ।

जसको अर्थ ‘ल्हो’ अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने ‘छार’ वा ‘सार’को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ ‘नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ र, यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ । ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् ।

बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तै ः मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहो¥याएर वर्ष गनिन्छ ।