काठमाडौं। कोरोना भाइरसको सङक्रमण आज पाँच सय ६४ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चार हजार चार सय ५४ परीक्षणमध्ये आज पाँच सय ६४  मा सङ्क्रमण देखिएको बताउनुभयो । 

उहाँका अनुसार काठमाडौँ उपत्यकाको ललितपुरमा ४१, भक्तपुरमा १७ र काठमाडौँ दुई सय अठार मा सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार नौ सय २९ रहेको छ ।  विगत २४ घण्टामा २०२ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । 

यस्तै सङ्क्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म होम आइसोलेसनमा तीन हजार सात सय ९४, संस्थागत आइसोलेसनमा एक सय ३५, सघन उपचार कक्ष (आइसियु)मा  ३२ र भेन्टिलेटरमा दुईजनाको उपचार भइरहेको छ । यसैगरी विगत २४ घण्टामा एक लाख एक हजार छ सयले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।