सामाजिक संजालको दुरुपयोग गरी ठगी गर्ने झापाका ३० वर्षिया पंकज पौडेलीलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक संजाल (फेसबुक, ह्वाट्स एप, आइएमओ, फेक इमेल) मार्फत विदेशी नागरिक हुँ भनि ठगि गर्ने झापा अर्जुनधारा -९ का पंकज पौडेलीलाई प्रहरीले माघ २५ गते झापाको बिर्तामोडबाट पक्राउ गरी सार्वजनिक गरेको हो।

निजले सामाजिक संजाल मार्फत विभिन्न व्यक्तिहरुलाई फ्रेण्ड रिक्वेस्ट पठाई कुराकानी गरी विश्वास दिलाई पीडितहरुलाई नेक्लेस, घडी, जुत्ता, मोबाइल, डलरको पार्सल एवं गिफ्ट पठाएको, रोजगारीको लागि भिषा लगाई दिने भनी नक्कली भिषा पठाई बिश्वासमा दिलाई पार्सल एवं गिफ्टको सामानहरु प्राप्त गर्नको लागि भन्सार शुल्क तिर्नु पर्छ भनी भारतबाट फोन समेत गरी नेपालमा रहेका बिभिन्न ब्यक्तिहरुको नाममा रकम पठाउनु भनी नाम समेत दिई हाल सम्म बिभिन्न पीडित व्यक्तिहरुबाटजम्मा छब्बीस लाख असी हजार दुई सय एकहतर रुपैयाँ आईएमई गरी विभिन्न व्यक्तिहरुको नाममा रकम पठाउन लगाई ठगि गरेको भन्ने पीडितहरूको निवेदन अनुसार प्रहरीले उक्त गिरोहलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापासँग समन्वय गरी निजलाई माघ २५ गते झापाको बिर्तामोडबाट पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानको क्रममा निजको मोबाईबाट एक करोड पन्चानब्बे लाख बाह्र हजार तिन सय बाउन्न रुपैयाँ विभिन्न व्यक्तिहरुबाट प्राप्त गरेको रेकर्ड समेत फेला परेको जनाईएको छ। थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ ल्याईएको छ।