काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले बेरुजु बढिरहेको देखाएकाले बेरुजु फछ्र्याैटलाई अभियानका रुपमा अघि बढाइनुपर्नेमा जोड दिनुभएको छ । महालेखा परीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले अभियानका रुपमा बेरुजु फछ्र्याैट गरेपछि बेरुजु राख्न नदिने गरी आर्थिक अनुशासन पालना गरिनुपर्ने बताउनुभयो ।

आर्थिक शुद्धताले नै सुशासन कायम गर्न सहयोग गर्ने भएकाले यसमा सरोकार भएका सबै निकायको ध्यान जानुपर्ने राष्ट्रपति भण्डारीले सुनाउनुभयो । “ महालेखापरीक्षकको प्रतिवेदनमार्फत् उठेका विषयलाई केन्द्रीय संसद्, प्रदेशसभा, र स्थानीयसभाले गम्भीर रुपमा लिएर दोहो¥याउन दिनुहुँदैन, सार्वजनिक वित्तीय व्यवहारमा पारदर्शीता हुनुपर्छ, सार्वजनिक वित्त व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रतिवेदनले काम गरेको छ”, उहाँले भन्नुभयो । 

अर्थमन्त्री जनार्दन शर्माले बेरुजु फछ्यौटलाई सरकारले प्रयास गरिरहेको उल्लेख गर्नुहुँदै वित्तीय व्यवस्था सुधारमा सरकार लागिपरेको बताउनुभयो । रु छ खर्ब ७६ अर्ब बेरुजु फछ्र्यौटमा मन्त्रालय लागेको उहाँले कार्यक्रममा जानकारी गराउनुभयो । 

“आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा बेरुजु फछ्र्यौटलाई प्राथमिकता दिइएको छ, महालेखा परीक्षकको कार्यालयलाई आवश्यक भौतिक तथा वित्तीय सहयोग गरिन्छ”, मन्त्री शर्माले भन्नुभयो । प्रतिनिधिसभा, सार्वजनिक लेखासमितिका सभापति भरतकुमार शाहले १५ वर्षअघिको कम्प्युटर, ल्यापटप, मोबाइललाई त्यस बेलाको मूल्यमा परिवर्तन गरेर बेरुजु देखाउने काम न्यायसङ्गत हुन नसक्ने बताउनुभयो । देश आर्थिक अप्ठ्यारोमै रहेकाले फजुल विदेश भ्रमण र फजुल खर्च नियन्त्रण गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । 

महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालले यस वर्षदेखि विद्युतीय प्रणालीबाट गरिएको लेखापरीक्षणको प्रतिवेदन आउने क्रममा रहेको जानकारी गराउनुभयो । कोरोना महामारीका कारण कार्यालयको वार्षिकोत्सव मनाउन नपाइएको उल्लेख गर्नुहुँदै उहाँले यस वर्ष उत्कृष्ट कार्यसम्पादन भएका सात जना कर्मचारीलाई पुरस्कृत गरिएको सुनाउनुभयो ।

“कोभिडको छुट्टै लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिनेछ, महालेखापरीक्षकको कार्यालयको पनि अन्तर्राष्ट्रिय लेखापरीक्षकले लेखापरीक्षण गर्ने प्रावधान अनुसार थाइल्याण्डको लेखापरीक्षण संस्थाले लेखापरीक्षण गरी राम्रो काम गरेको प्रतिवेदन दिएको छ”, महालेखापरीक्षक शर्माले भन्नुभयो । कार्यालयले यसै वर्षदेखि जोखिममा आधारित लेखापरीक्षण प्रणालीलाई अवलम्बन गरेको छ । यसवर्ष बेरुजु फछ्र्यौटमा उत्साहजजनक काम हुन नसकेको सो अवसरमा जानकारी गराइएको थियो ।

स्थानीय तहमा बढी अनियमितता देखिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ। सुशासन बहालीका लागि महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको थियो । उपमहालेखापरीक्षक रामुप्रसाद डोटेलले लेखापरीक्षणको गुणस्तरीयताबाट नै सुशासन प्रत्याभूति हुने विषयलाई आत्मसात गर्न आग्रह गर्नुभयो । कार्यालयले छ हजार भन्दा धेरै सार्वजनिक निकायको लेखापरीक्षण गर्ने गरेको छ ।  विसं २०१६ असार १५ गते स्थापना भएको कार्यालय आजदेखि ६३ वर्ष पूरा गरी ६४ वर्षमा लागेको छ।