काठमाडौं। काठमाडौंको कोटेश्वरमा माइक्रोबस (जम्बो हाइस) को ठक्करबाट एकजनाको मृत्यु भएकोे छ । काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक नजिक सडकमा कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा२ख १२३१ नं.को माइक्रोबसले ठक्कर दिँदा स्याङ्जा थेङचुङगढी स्थायी घर भएका ५२ वर्षीय देउकुमार सेनको गए राति मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दुर्घटनामा गम्भीर घाइते भएका सेनको उपचारका क्रममा बी एन्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको जानकारी दिनुभयो । सोही दुर्घटनालगत्तै बालकुमारीबाट कोटेश्वर आउँदै गरेको प्रदेश नं ३–०१–००६ ख ०२९५ नंको ट्रकले माइक्रोबसलाई ठक्कर दिँदा माइक्रोबसका सहचालक रामेछाप मन्थलीका २३ वर्षीय विमल सुनुवार घाइते भएका छन् । घाइते सुनुवारको उपचार लागि सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।

प्रहरीले दुर्घटनामा संलग्न माइक्रोबस र ट्रकलाई नियन्त्रणमा लिएको छ भने माइक्रोबस चालक फरार रहेकाले खोजी भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो । दुर्घटनासम्बन्धी प्रहरी वृत्त बानेश्वरले आवश्यक अनुसन्धान गरिरहेको छ ।