काठमाडौं । भारतको उत्तराखण्डमा आज एक १९ वर्षीया किशोरी एक दिनका लागि मुख्यमन्त्री बनेकी छन् । २४ जनवारी (आज) बाल दिवसको अवसरमा १९ वर्षिया सृष्टी गोस्वामीलाई उत्तराखण्ड सरकारले एक दिने मुख्यमन्त्री बनाउन लागेको हो ।

उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले उनलाई प्रतिकात्मक रूपमा एकदिने मुख्यमन्त्री बनाउन लागेको जनाएकी छन् । प्रतिकात्मक भए पनि उनी उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री हुनेछिन् ।

अध्यक्ष उषा नेगीका अनुसार एक दिनको मुख्यमन्त्री बनाउनुको उद्देश्य बालिकाहरुको सशक्तीकरण गरानु रहेको बताएकी छन् । सृष्टिले सामाजिक सन्जालमै एक बयान जारी गर्दै भनेकी छन्, ‘एक दिनको मुख्यमन्त्री बन्ने अवसर पाउँदा म एकदम खुसी छु । मैले खासगरी बालिका सुरक्षासँग सम्बन्धित सुझावहरु उत्तराखण्ड सरकारलाई दिनेछु ।’

यसअघि सृष्टिलाई सन् २०१८ मा उत्तराखण्ड बाल विधानसभाको मुख्यमन्त्री चुनिएको थियो । उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बन्ने भएपछि सृष्टि गोस्वामी अहिले सामाजिक सन्जालमा भाइरल भएकी छन् ।