चुनावी समिकरण:
स्थानीय तह निर्वाचन २०७९ मतदान हुने दिन नजिकिँदै गर्दा सिन्धुलीको फिक्कल गाउँपालिकामा उम्मेदवारी दिएका कुन पार्टीका उम्मेदवारी कस्तो भन्ने चर्चा शुरु भएको छ। यस पटक फिक्कल गाउँपालिकामा सत्तापक्ष नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धन गरेको छ भने प्रतिपक्षी नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ।
यसअघि वि.सं. २०७४ सालमा फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित चारवटा वडामा नेकपा एमालेले वडा अध्यक्ष सहित प्यानल जितेको थियो भने नेपाली काङ्ग्रेसले वडा नं १ र ६ गरी दुई वटा वडामा वडा अध्यक्षसहितको प्यानल विजयी भएको थियो।
स्थानीय तह निर्वाचन २०७९ मा सत्ता समिकरणमा रहेको नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरी गाउँपालिका अध्यक्षमा काङ्ग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रलाई उठाएको छ। नेपालीकाङ्ग्रेसले आफूले गाउँपालिका अध्यक्ष लिनका लागि पहिले आफूले प्यानल सहित जितेको दुईवटै वडा १ र ६ को अध्यक्ष माओवादी केन्द्रलाई सुम्पेको छ। तर नेकपा एमाले आफूले पुरानै इतिहास दोहोर्याउने आत्मविश्वासका साथ चुनावी मैदानमा होमिएको छ।
कुन दलको उम्मेदवार कस्ता?
नेकपा एमालेको अध्यक्ष उम्मेदवार: पार्वती सुनुवार
गाउँपालिकाको अध्यक्ष उम्मेदवार पार्वती सुनुवार नेकपा एमाले जिल्ला कमिटी सिन्धुलीको पहिलो र एकमात्र महिला अध्यक्ष र युवा उम्मेदवार भएका कारण उनको नाम जिल्लाभर चर्चामा छ।
नेकपा एमाले फिक्कल गाउँपालिकाका अध्यक्ष उम्मेदवार यसअघिको स्थानीय तह निर्वाचनमा लोकप्रिय मत ल्याई उपाध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन्। यस अघि जनप्रतिनिधिमा निर्वाचित भई पाँचवर्ष उपाध्यक्षको भुमिकामा रहेकी सुनुवार लोकप्रियता बढेका कारण उनलाई पार्टीले अध्यक्षको टिकट दिएको हो। फिक्कलका अध्यक्षका उम्मेदवार सुनुवार सहित सात जना आकांक्षी रहेपनि अध्यक्षको टिकट सुनुवारले पाईन्।
पार्टीमा आवद्धता र पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निभाएका सुनुवार अनेरास्ववियू, अनेम संघ, नेकपा एमाले जिल्ला कमिटी सदस्य हुँदै प्रदेश तथा महाधिवेशन प्रतिनिधि समेत भई सकेका सनुवार भौतिक पूर्वाधार विकासको क्षेत्रमा राम्रो अनुभव सङ्गालेका नेतृ हुन्। जिल्ला प्राविधिक कार्यालय मार्फत सञ्चालित ग्रामीण पुनर्निर्माण र पुनर्स्थापना कार्यक्रममा लामो समय काम गरेकी सुनुवारलाई ग्रामिण सडक, खानेपानी, भवन निर्माण लगायतका क्षेत्रमा प्राविधिकले झुक्याउन नसक्ने ज्ञान छ। शिक्षा क्षेत्रमा समाजशास्त्र विषयमा स्नातकोत्तर अध्ययन पुरा गरेकी सुनुवार कानून विषयमा स्नताक गरेकी छन्। जनप्रतिनिधिमा निर्वाचित भएपछि राजनीति र समाज सेवालाई नै मुख्य पेशा बनाईएकी सुनुवार समाज सेवा र नेतृत्वमा निकै रुची राख्छिन्। उनको नेतृत्वको जिल्लादेखि प्रदेश हुँदै केन्द्रसम्म निकै चर्चा हुने गरेको पाईन्छ।
उपाध्यक्ष पदमा रहेर गाउँपालिकामा काम गर्दाको अनुभव बटुलेकी सुनुवारलाई गाउँपालिकाको आर्थिक, भुगोल, जनसंख्या, प्राकृतिक सम्पदा, सामाजिक तथा सांस्कृतिक अवस्थाको जानकारी र त्यसको दिगो विकास गरी बहुउपयोग गर्दै आर्थिक लाभ कसरी हासिल गर्ने भन्ने राम्रो ज्ञान रहेको र त्यसलाई रणानीतिक तरिकाले अघि बढाउने स्पष्ट खाका छ।
आफू चुनावी मैदानमा रहेको र निर्वाचित भएपछि योजनावद्ध ढंगले गाउँपालिकाभित्र रोजगारीको दर बढाउने, कृषिलाई व्यवसायिकरण गर्ने, गुणस्तरिय नि:शुल्क जीवनउपयोगी शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रम अघि बढाउन प्रतिवद्ध रहेकोले आफूलाई सूर्य चन्हमा मतदान गरी निर्वाचित गराउन अपिल गर्नु भएको छ।
गठबन्धनका अध्यक्ष उम्मेदवार: नृप बहादुर भुजेल
गठबन्धनका उम्मेद्वार नृप बहादुर भुजेल नेपाली काङ्ग्रेसको फिक्कल गाउँपालिकको अब्बल नेता हुन्। नेपाली काङ्ग्रेसले फिक्कल गाउँपालिका भुजेललाई कुशल र अब्बल नेता भएका कारण टिकट दिउको हो भने गठबन्धनले पनि समर्थन गरेको छ।
पेसाले शिक्षक भएपनि उनी पहिल्यैदेखि व्यापारमा लगाव राख्ने व्यक्तित्व हुन्। शिक्षक पेसा सँगसँगै उनले विगत केही वर्षदेखि कन्ट्रक्सनको क्षेत्रमा लगानी गरेका छन्। समाजसेवी र विकासप्रेमी भुजेल सरल व्यवहार, सहयोगी भावना र असल स्वभावका कारण लोकप्रिय छन्। अध्यक्ष उम्मेदवार भुजेल नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन्। पार्टीभित्र उनको जिल्लादेखि प्रदेश तथा केन्द्रीय स्तरमा उनको प्रभाव राम्रो रहेको छ।
यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा दोस्रो बनेको नेपाली काङ्ग्रेस यस पटक गाउँपालिकाको अध्यक्ष जित सुनिश्चित गर्नका लागि सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरी चुनावमा होमिएको छ। २०७४ कै स्थानीय निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा दावी गरेपनि भुजेललाई पार्टीले यस पटक टिकट दिएको छ।
स्थानीय तहमा यस अघि जनप्रतिनिध भई उनको कार्यशैली नदेखिएका भुजेलले गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि के कस्ता योजना छन् भनि प्रश्न गर्दा गठबन्धनको संयुक्त घोषणापत्र इङ्गित गर्दै मोटरबाटो स्तरोन्ति, गाउँपालिकाको धार्मिक सांस्कृतिक संरक्षण, पर्यटन प्रवर्द्धनका लागि फिक्कलको भ्यूटावरलाई व्यवस्थित गर्ने, पिकनिक स्पट, पदयात्राको विकास, विद्युत विकास, प्रत्येक वडामा खोप केन्द्र, कृषि पकेट क्षेत्र विकास, युवालाई सहुलियतदरमा ऋण, अङ्ग्रेजी माध्यमबाट आधारभुत शिक्षा, प्रविधिको विकास, सामाजिक सुरक्षा भत्ता, सीपमूलक तालिम मार्फत स्वरोजगार र आयआर्जनको क्रियाकलाप सञ्चालन गर्ने लगायत समृद्ध गाउँपालिका निर्माण गर्ने योजना रहेको बताउनु हुन्छ।
कसको सम्भावना कति?
नेकपा एमालेले यसअघि गाउँपालिकामा बहुमत ल्याएको हिसाले सोही अनुरुप उसले यस पटक पनि चुनाबी परिणाम आउनेमा ढुक्क देखिन्छ। गठबन्धन गरेको काङ्ग्रेस र माओवादी केन्द्र यसअघि काङ्ग्रेले थोरै मतान्तरले हारेको र अब अध्यक्षका लागि माओवादी केन्द्रको साथ पाएकाले गठबन्धनको उम्मेदवारले जित्नेमा ढुक्क छ।
गठबन्धन यस अघि आफूले व्यहोरेको हारको स्वाद चखाउने योजनामा रहेको छ भने नेकपा एमाले पाँच वर्षको अवधिमा आफूले गरेको राम्रो कामको लोकप्रियताको आधारमा जनाधार आफ्नो पक्षमा रहेको विश्वास गर्दछ।
तथापी, स्थानीय निर्वाचनमा पार्टीलाई भोट दिनु भन्दा पनि समृद्ध स्थानीय तह निर्माण गर्ने, निष्पक्ष ढङ्गले नागरिकको जीवनस्तरमा प्रत्यक्ष परिवर्तनको अनुभुति दिलाउन सक्ने कुशल, दूरदर्शी, नागरिकमैत्री र सुशासनप्रति प्रतिवद्ध जनप्रतिनिधिलाई भोट हाल्न हिच्किचाउनु हुँदैन।

