सिन्धुली । घ्याङलेख गाउँपालिका स्थित मरिण हायुटार मा.वि.मा गणित र विज्ञान विषयको विशेष प्रयोगात्मक कक्षा उद्घाटन भएको छ । बोस्क एजुकेशन प्रा.लि. र घ्याङ्लेख गाउँपालिकाको साझेदारीमा गणित र विज्ञान विषयको प्रयोगात्मक कार्यक्रम २०७७ उद्घाटन पुस २८ गते गरिएको हो । 

प्रविधिमा भएको विकाससँगै प्रयोगात्मक शिक्षण सिकाईमा प्रयोगात्मक विधिलाई जोड दिन गाउँपालिकाले बोस्क एजुकेशन प्रा.लि.सँगको साझेदारीमा गणित र विज्ञान विषयको विशेष प्रयोगात्मक कक्षालाई जोड दिएको हो । ध्याङलेख गाउँपालिका अन्तर्गत रहेका मा.वि. मरिण हायुटार, मा.वि. अमले, नेत्रकाली मावि तामाजौर, नेत्रकाली मा.वि. आँपडाँडा, रामपुर र मा.वि. गोपे लगायत पाँच वटा माध्यमिक विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत १२७६ विद्यार्थीहरुलाई केन्द्रिकृत यस कार्यक्रम प्रत्येक विद्यालयमा ३/३ दिनको हुनेछ । पहिलो २ दिनमा प्रशिक्षकहरु मार्फत प्रयोगात्मक प्रशिक्षण गर्ने काम हुन्छ भने तेस्रो दिन विद्यार्थीहरु मार्फत निर्मित शैक्षिक सामग्रीहरुमो प्रदर्शनी हुनेछ ।

मरिण हायुटार मा.वि.मा उद्घाटन गरिएको कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष दुर्गादेवी सुनुवारको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लाल बहादुर बज्यूको अध्यक्षता भएको थियो । ग्रामिण विकास सामुदायिक संस्था अध्यक्ष महेन्द्र बहादुर सुनुवार, पालिकाको प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्की, शिक्षा अधिकृत सुरेन्द्र कुमार स्याङ्तान र बोस्क एजुकेशन प्रा.लि.का कार्यकारी अध्यक्ष मानबहादुर सुनुवारको समुपस्थिति रहेको थियो । 

बोस्क एजुकेशन प्रा. लि.को तर्फबाट प्रशिक्षक मनोज थापा मगरले कार्यक्रम सञ्चालन गर्नु भयो भने प्रशिक्षक निरन्जन तिम्सिना र उज्वल दाहालको सहजिकरणमा कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरु मार्फत अभ्यास पुस्तिकाको विमोचन तथा प्रयोगात्मक विधिबाट वाटर रकेट लञ्ज र ज्वालामुखी बिस्फोटन गरेर कार्यक्रमको उत्घाटन भएको थियो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष सुनुवारले प्रयोगात्मक शिक्षाले विद्यार्थीको सिकाइमा निखारता ल्याउने भएकाले प्रयोगात्मक कक्षाको निरन्तरताको लागि पालिकाबाट सबै किसिमको सहयोग र सहकार्यको प्रतिबद्धता जनाउनु भएको छ ।  विशिष्ट अतिथि ग्रामिण विकास सामुदायिक संस्थाका अध्यक्ष महेन्द्र बहादुर सुनुवारले कार्यक्रमको महत्वबारे प्रष्ट पार्दै सिन्धुली जिल्लाकै फिक्कल गाउँपालिकासमेत यस किसिमका कार्यक्रम विगतदेखि नै सञ्चालनमा रकेहो र त्यसले विद्यार्थीको सिकाईमा राम्रो प्रभाव रहेको बताउनु भयो ।

त्यस्तै विद्यालय प्रधानाध्यापक विजय कुमार थिङ, शिक्षा अधिकृत सुरेन्द्र कुमार स्याङतान, प्रशासन अधिकृत गिरीराज खनाल लगायतका वक्ताहरुले पालिकामा नविनतम कार्यक्रमको स्वागत गर्नका साथै चुनौतीहरुलाई सामना गर्दै प्रभावकारिता जोड दिन सल्लाह सुझाव दिनुभयो । उत्घाटन कार्यक्रमका अध्यक्षता गरि रहनु भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर बजुज्युले यस किसिमको कार्यक्रम व्यवहारिक शिक्षाको लागि आवश्यक रहेको मन्तव्य राख्दै विद्यालयको तर्पmबाट सबैको साथ सहयोग रहने जानकारी दिनुभयो ।