काठमाडौं। काठमाडौँ उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक नगरीको रुपमा रहेको कीर्तिपुरमा पनि स्थानीय तहको निर्वाचनको माहोलले ढपक्कै छोपेको छ । विभिन्न राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवार मतदातासँग मत माग्न व्यस्त छन् । लामो राजनीतिक इतिहास बोकेको यस नगरलाई थप समृद्ध बनाउने संकल्प बोकेर उम्मेदवार मतदाताको घरदैल्होमा पुग्दा स्थानीयले विगतमा गरिएका प्रतिबद्धता के कति पूरा भए भनेर उम्मेदवारसँग जिज्ञासा राखेका छन् ।

त्रिभुवन विश्वविद्यालय नजिकै हुनु, शैक्षिक क्षेत्रमा उल्लेख्य प्रगति हुन जस्ता कारणले कीर्तिपुरका मतदाता सचेत देखिएका छन् । परम्परागत नेवारी बस्ती र सभ्यतासँग जोडिएको स्थल भएकाले पनि कीर्तिपुरको आफ्नै महत्व र विशेषता छ । भौतिक विकासका दृष्टिले पछाडि परेको भन्दै कीर्तिपुरवासीले स्थानीय तहको निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग जमेर प्रश्न गरेका छन् । भौतिक तथा मानवीय विकासका लागि स्पष्ट कार्ययोजना के छ भनेर उम्मेदवारसँग जिज्ञासा राख्नेमा विजेन श्रेष्ठ पनि एक हुनुहुन्छ ।

राजधानी नजिकको नगरपालिका भएर पनि मानवीय र भौतिक विकासमा पछाडि पर्नुको पछाडि ‘बत्ती मुनीको अध्यारो’ भने जस्तै त होइन भन्ने जिज्ञासा राखेको जानकारी दिँदै सुष्मलता महर्जनले निर्वाचनमा विजयी हुने उम्मेदवारले नगरवासीको मनोभावनालाई आत्मसात् गर्नुपर्ने बताउनुहुन्छ ।

निर्वाचित भएर गएपछि जनताको दैनिक समस्यासँग जोडिने जनप्रतिनिधिको खोजीमा देखिन्छन् कीर्तिपुरका मतदाता । पांगा दोबाटोमा भेटिएका स्थानीय मतदाताले एकै स्वरमा रासससँगको कुराकानीमा भने, “विकास र समृद्धि हाम्रो चाहना हो । जनप्रतिनिधि सेवक बन्नुपर्छ । हामी त्यस्तै उम्मेदवारको पक्षमा छौँ ।” नगरका प्रमुख क्षेत्रमा राजनीतिक दलका उम्मेदवारदेखि समर्थकले आआफ्ना पार्टीको पक्षमा मत माग्ने, केही सिर्जनात्मक ढङ्गले प्रचारप्रसार गरिरहेका भेटिन्छ ।

आफ्नो छुट्टै अस्तित्वमा अगाडि बढिरहेको ऐतिहासिक नगर भएकाले पनि कीर्तिपुरले निरन्तर परिवर्तनको यात्रा तय गरेको छ । नेवार जातिको मुख्य बसोबास रहेको ऐतिहासिक कीर्तिपुर नगर वि.सं. २०५३ चैत १४ गते तत्कालीन आठ गाविस (लायकु, चिठु बिहार, पालिफल, बाहिरी गाउँ, पाँगा विष्णुदेवी, पाँगा बालकुमारी, चोभार भुतखेल र चम्पादेवी) गाभेर गठन गरिएको हो । नगरपालिका ऐन, २०४८ अनुसार स्थापना भएको सो नगर मल्ल कालदेखि नै कला र संस्कृतिले धनी छ ।

आधुनिक नेपालको निर्माण गर्ने क्रममा हरेक पाइलामा भाग लिँदै आइरहेको छ । लोकतान्त्रिक आन्दोलनमा कीर्तिपुरले उल्लेखनीय भूमिका खेलेको तथ्य कोही कसैले कसी लगाइदिनुपर्ने पनि छैन । व्यावसायिक रुपले पनि यस नगर विभिन्न औद्योगिक कलकारखानाका साथै सडक यातायत, बजारको व्यवस्था, खानेपानी, बिजुली, सञ्चार उपलब्ध छ । नेपालकै सबैभन्दा पुरानो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा छ । कीर्तिपुर सहरको उत्तरमा काठमाडौँ महानगरपालिका, दक्षिणमा दक्षिणकाली नगरपालिका पूर्वमा बागमती नदी र ललितपुर महानगरपालिका, पश्चिममा चन्द्रागिरि नगरपालिका पर्दछ । यस कीर्तिपुर नगरपालिकाको कूल क्षेत्रफल १४.७६ वर्ग कि.मी. छ ।

कीर्तिपुर नगरमा कीर्तिपुरलगायत पाँगा, चोभार, भाजंगल, टौदह, ट्याँङ्गला फाँट, चम्पादेवी, नगाउँ, सल्यानस्थान, नयाँ बजार र भत्क्यापाटी आदी प्रमुख स्थानका रुपमा परिचित छन् । सहरको अधिकांश भाग कृषि क्षेत्र र जङ्गलले ढाकेको छ । यस नगरमा सडक तथा गल्ली उल्लेखनीय विकास नभएको स्वयं कीर्तिपुर नगरपालिकाले स्वीकार गरेको छ ।

कालोपत्रे सडक ३५ किलोमिटर, ग्राभेल सडक ४० किलोमिटर र  कच्ची सडक ३५ किलोमिटर छ । नगरपालिकाले काठमाडाँ चक्रपथलाई उत्तर पट्टी छोएको छ भने दक्षिणकाली जानेमा एक किलोमिटर भन्दा पनि कम दुरीमा छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, र बहुसांस्कृतिक सम्पदाले भरिपूणर् यस नगरपालिका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका धरोहरले सम्पन्न छ । यस नगरका बासिन्दा सबैभन्दा बढी कृषि पेशामा निर्भर रहेको देखिएता पनि अधिकांश ज्याला मजदुरीका अलावा घरेलु उद्योग, पसल-व्यवसाय आदि सञ्चालन गरी जीविकोपार्जन गर्दै आइरहेको पाइन्छ । यो नगर खुल्ला दिसामुक्त, पूणर् साक्षर र पूणर्खोपयुक्त घोषणा भइसकेको नगरपालिका हो ।

वि.सं. २०४६ को जनआन्दोलनमा कीर्तिपुरको भूमिका महत्वपूणर् र ऐतिहासिक रहेको तथ्य नेपालको इतिहासमा स्वणर् अक्षरमा लेखिएको छ । जनआन्दोलन उत्कर्षमा पुगेका बेला वि.सं. २०४६ चैत २० गते चार जनाको शहादत प्राप्त भएको थियो । प्रहरीको गोलीबाट लनबहादुर महर्जन, हिराकाजी महर्जन, राजमान माली र राजेन्द्र महर्जनको शहादत भएको थियो । चुनावी चहलपहल बढेसँगै नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायतका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आफूलाई श्रेष्ठ सावित गर्ने प्रयास गरिरहेका छन् ।

कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि १४ जनाको उम्मेदवारी परेको छ । उपप्रमुखमा ११ जनाको उम्मेदवारी छ । कूल २३७ जनाको उम्मेदवारी परेको छ । कीर्तिपुर नगरपालिकामा सत्तारुढ गठबन्धनका बीचमा सहमति हुन नसकेपछि आआफ्ना उम्मेदवार चुनावी मैदानमा छन् । चुनावी मैदानमा एमालेका केशरत्न बज्राचार्य, नेपाली कांग्रेसका राजकुमार नकर्मी र नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रा डा शिवशरण महर्जन, एकीकृत समाजवादीबाट बटुकृष्ण थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीका जितबहादुर विष्ट, नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जनलगायतले प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ ।

उपप्रमुखमा एमालेका बिन्दु महर्जन, कांग्रेस शुभलक्ष्मी शाक्य र माओवादी केन्द्रका सुशिला बस्नेत, एकीकृत समाजवादीका  कमला महर्जनलगायतको उम्मेदवारी परेको छ । वडाध्यक्षका उम्मेदवारमा ५५, वडा सदस्यमा ९१, महिला सदस्यमा ४३ तथा दलित महिला सदस्यमा २३ जनाको उम्मेदवारी परेको छ । दलित महिला सदस्य मध्ये केही निविरोध निर्वाचित भइसक्नुभएको छ । माओवादीका तर्फबाट प्रमुखका उम्मेदवार प्रा डा शिवशरण महर्जनले शैक्षिक उन्नयन, सुशासन, भ्रष्टाचारमुक्त वातावरण, नागरिकको जनजीविकाको विकास, स्वास्थ्य, विकास निर्माण र रोजगारीको व्यवस्थालगायतका विषय नै आफूहरुको प्रमुख एजेण्डा भएको जानकारी दिनुभयो ।  इटागोल (यतुगः) वडा नम्बर ७ को सम्पर्क कार्यालय उद्घाटनको क्रममा भेटिनुभएका महर्जनले सामाजिक आर्थिक रुपमा कीर्तिपुर र कीर्तिपुरवासीलाई समृद्ध बनाउने आफ्नो एजेण्डा रहेको बताउनुभयो ।
    
वि.सं. २०५५ मा तत्कालीन नेकपा (माओवादी)को विशेष उपत्यका ब्युरोको बैठक पार्टीका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेता इटागोलमा एकहप्ता बसेकाले पनि यस टोल (माओवादी) पार्टीको लागि महत्वको रहेको उहाँको भनाइ छ । त्रिभुवन विश्वविद्यालयका केन्द्रीय शिक्षा विभागका प्रमुखको भूमिका निर्वाह गर्नुभएका प्रा डा महर्जनले आफू प्रमुखमा विजय भए आफ्नो पारिश्रमिक तथा तलब सामाजिक सेवामा नै समर्पित गर्ने घोषणा गरिसक्नुभएको छ । कीर्तिपुर क्षेत्रमा विभिन्न सामाजिक, शैक्षिक, सहकारी, यातायात, खानेपानी, सामाजिक कार्यहरुमा उहाँको महत्वपूणर् योगदान छ ।

उपप्रमुख पदका उम्मेदवार सुशीला बस्नेत विगतका असफलताबाट पाठ सिक्दै महिलाको अधिकार सुनिश्चित गर्दै कीर्तिपुर नगर र नगरवासीको भाग्य र भविष्य बदल्नका लागि आफूले उम्मेदवारी दिएको बताउनुहुन्छ । कांग्रेसबाट प्रमुखको उम्मेदवार रहनुभएका राजकुमार नकर्मी पनि मतदाताका बीचमा कीर्तिपुरको विकासका विविध योजनाहरु अघि सारेर गएको र सकारात्मक प्रतिक्रिया पाएको बताउनुहुन्छ । उपप्रमुखको उम्मेदवार शुभलक्ष्मी शाक्यले पनि आफूहरु निरन्तर निर्वाचन केन्द्रीत अभियान लिएर जनताको घर दैल्होमा पुगेको जानकारी दिनुभयो ।

एमालेका तर्फबाट प्रमुखका उम्मेदवार केशरत्न बज्राचार्य पनि निर्वाचन अभियानमा हुनुहुन्छ । अन्य तथा स्वतन्त्र उम्मेदवार पनि मतदातालाई आकर्षित गर्न लागिपरेका छन् । आर्थिक तथा अन्य औद्योगिक गतिविधिसमेत क्रमशः विस्तारित हुँदै गएको यस नगरका मतदाताले कस्ता उम्मेदवारलाई चयन गर्लान् भन्ने जिज्ञासाको उत्तर भने वैशाख ३० गते नै दिनेछन् ।

हालै मात्र सोही नगरको चोभारमा सुक्खा बन्दरगाह सञ्चालनमा आइसकेको छ । काठमाडौँ तराई मधेश द्रूतमार्ग, काठमाडौँ हेटौडा सडकलगायतले आर्थिक विकासलाई अगाडि बढाउन सहयोग पुगेको र यस नगरले खोजेको थप प्रगतिलाई राजनीतिक दलका उम्मेदवारले सम्बोधन गर्नेछमा मतदाता ढुक्क देखिएका छन् ।