काठमाण्डौं । ‘प्रि मनसुन’ सुरु भएसँगैआज बिहानैदेखि काठमाडौं उपत्यका सहित देशका अधिकांश भुभागमा झरी पर्न सुरु भएको छ । 

स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभावले मौसममा बदली आएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। प्रि मनसुनसुरु भइसकेको र अब मौसममा प्रायः बदली आइरहने र जेठको अन्तिमतिर देखि वर्षातको मौसम हुने मौसमविद्हरुले बताएका छन् ।

मौसमविद राजु प्रधानाङ्गका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बागमती प्रदेश र मधेश प्रदेशका पश्चिमी जिल्लाहरुमा भने हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । यस्तो अवस्था केही घण्टासम्म मात्र रहने देखिन्छ । त्यसपछि आकाश खुल्ने र अपराह्नपख पुनः बदली हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।००००