वैशाख ८, जनचासो खबर । इलामको कोशेली ललिपप धेरैको रोजाइमा पर्दछ । दूधबाट बनेको ललिपप इलाम घुम्न आउने पर्यटकले घर फर्किंदा कोसेलीको रुपमा प्रायः लिएर जाने गर्दछन् । निकै स्वादिलो मिठाईका रुपमा लिइने ललिपप उद्योगबाट धेरै महिलाले रोजगारीसमेत पाएका छन् ।

ललिपपसम्बन्धी उद्योग सञ्चालन गरेर इलामका महिलाले आत्मनिर्भर मात्र हैन धेरै महिला तथा पुरुषलाई रोजगारी दिएकासमेत छन् । धेरै महिला तथा पुरुष जागिरको खोजीमा कोही नेपालमा नै त कोही रोजगारी नपाएर वैदेशिक रोजगारीमा समेत जाने गर्दछन् तर इलाममी दीपा गुरुङले धेरै महिलालाई रोजगारी दिनुभएको छ । सानो लगानीबाट सुरु गरेको ललिपप उद्योगबाट धेरै महिला दिदीबहिनीलाई रोजगारी दिन सफल हुनुभएको छ । इलाम तिल्केनीकी दीपाको दैनिकी अहिले निकै व्यस्त छ ।

आठ वर्ष पहिले उहाँले स्थापना गरेको ग्रिनसिटी ललिपप उद्योगमा अहिले ४६ महिलाले रोजगारी पाउनुभएको छ । बिहान ४ बजेदेखि राति अबेरसम्म उहाँ काममा नै व्यस्त रहनुहुन्छ । उहाँको उद्योगबाट ललिपप र बम्बैसन बन्ने गर्दछ । इलाममा मात्र सीमित ललिपप र बम्बैसन पछिल्लो समय काठमाडौँसम्म पुग्ने गरेको छ । छ जनाबाट सुरु भएको उहाँको उद्योगमा अहिले ४६ महिलाले दैनिक काम गर्छन् । रु पाँच लाखबाट सुरु भएको उहाँको उद्योगले अहिले वार्षिक रु ३५ लाखसम्म कमाइ गर्दै आएको छ ।

त्यस्तै इलाम बजार नजिकै सुष्मा राईले पनि इलामेली ललिपप उद्योग स्थापना गर्नुभएको हो । उहाँले पनि ३४ कामदार राखेर सो उद्योग सञ्चालन गर्दै आउनुभएको छ । रु चार लाखको लागतबाट सुरु भएको व्यवसायबाट राम्रै आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो ।

थोरै लगानीबाट सुरु भएको उद्योगमा धेरै महिलाले रोजगारी पाएसँगै उहाँहरु आत्मनिर्भरसमेत बन्दै जानुभएको छ । उद्योगमा सबैलाई कामको बाँडफाँट गरिएको छ । मिठाईका परिकारमा लेबल लगाउने, स्टिकर टास्ने, प्याकेजिङ गर्ने काममा महिला दिदीबहिनीले रोजगारी पाउनुभएको छ ।

गाउँबाट बालबच्चा पढाउन सदरमुकाम बसेका महिलासमेत सो उद्योगबाट स्वरोजगार बन्दै जानुभएको छ । उहाँहरुले श्रीमान् वा आफन्तबाट पैसा माग्न नपर्ने गरेको बताउनुभएको छ । बरु उल्टै परिवारमा पैसा सरसहयोग गर्न पाएको भन्दै खुसीसमेत व्यक्त गर्नुभएको छ ।

दूधबाट खुवा तयार पारेपछि ललिपप बनाइन्छ । ललिपपसँगै बम्बैसन पनि तयार पारिन्छ । १५ वर्ष पहिले सामान्यरुपमा बिक्री हुने ललिपप पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । दूध पकाउन चुला बनाएर आगोबाट गरिँदै आएको भए पनि पछिल्लो विद्युतीय प्रविधिबाट समेत दूध सुकाएर कुराउनी निर्माण गरिन्छ । दूध फटाएर छुर्पी, चिज, सेतो रसबरीलगायतका परिकार बनाइन्छ ।

हाल ललिपपलगायत दूधजन्य वस्तुको बजारमा समस्या नभएका कारण यस क्षेत्रमा जिल्लावासीको आकर्षण बढ्दै गएको छ । यस्ता उद्योग सञ्चालन गर्नेको सङ्ख्यासमेत बढ्दै गएको छ । कतिपय युवायुवती बेरोजगार बनेर विदेश पलायन भइरहेको अवस्थामा इलामका ललिपप उद्योगले धेरैलाई रोजगारी दिइरहेका छन् ।

कोरोना सङ्क्रमणमा धेरै मार खाएका यी उद्योगलाई टिकाइ राख्न राज्यका सम्बन्धित निकायले भने ध्यान दिन नसकिरहेको उद्योगीको भनाइ छ । जिल्लामा अनुदानका केही कार्यक्रम आए पनि वास्तविक व्यक्तिसम्म पुग्न नसकेको उद्योगीको गुनासो छ । यस विषयमा समेत सम्बन्धित निकायले सोच्न आवश्यक छ ।