२० पुस, रामेछाप ।   "गुणस्तरीय शिक्षाको लागि सहयोग" भन्ने मुख्य अभियानका साथ हिजो रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर ७ भुजीमा असल मित्र नेपालले विद्यालय पोसाक तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

दोलखाको जिरी नगरपालिका वडा नम्बर ६ मा रहेको असल मित्र नेपालले आइतबार उमाकुण्ड गाउँपालिका भुजीमा एक कार्यक्रमको आयोजना गरी उक्त विद्यालय पोसाक तथा स्टेशनरी वितरण गरेको हो ।

करिब १ लाखको लागतमा कास्थेम मा.वि, भिमेश्वोर आधारभूत विद्यालय र ठिन्केपु आधारभुत विद्यालयका जम्मा ५३६ जना विद्यार्थीहरुलाई विद्यालय पोसाक तथा स्टेशनरी सामाग्री वितरण गरेको हो ।

यो कुनै निकायको बजेटमार्फत नभई संस्थाले आफ्नै लगानीमा स-साना भाइबहिनीहरुको लागि सानो उपहार स्वरुप वितरण गरेको संस्थाका बरिष्ठ सल्लाहकार अध्यक्ष तथा जिरी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ज्ञान बहादुर सुनुवारले बताउनुभयो । "असल मित्र नेपालले आगामी दिनहरुमा पनि विद्यार्थीलगायत वडा नम्बर ७ का सम्पूर्ण वडाबासीहरुको मन जित्न सफल होस्, सदैव  सम्बन्ध प्रगाढ रहोस् र आउदो दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गर्छौं" उमाकुण्ड गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष रुद्रमणि नेवारले बताउनुभयो ।

विद्यालय पोसाक तथा स्टेशनरीका सामान आफुहरुले पाएपछि विद्यार्थी, शिक्षक र अभिभावकहरुमा थप हौसलाका साथ खुशी मिलेको ठिन्केपु आधारभुत बिद्यालयका वि.व्य.स अध्यक्ष मणिकुमार सुनुवारले बताउनुभयो ।