काठमाडौं । चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने वा पुरानो भन्नेमा अन्योल देखिएपछी सर्वोच्च पुगेको मुद्दा विचाराधिन हुँदा विद्यार्थीहरूमा अन्यौलता देखिएको छ । सरकारले चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरेको भए पनि सर्वोच्चले यस विषय विचाराधीनमा राखेको हो।

सर्वोच्च अदालतले गत कात्तिक १९ गते नयाँ पाठ्यक्रम लागू नगर्न अन्तरकालीन आदेश जारी गरेको दुई महिना पुग्दासम्म पूर्ण फैसला दिन सकेको छैन। शैक्षिक सत्र सकिनै लागेको अवस्थामा विद्यालयहरूले भने आफूखुसी पाठ्यक्रम पढाउने गरेको पाइएको छ ।

सरकारले कक्षा ११ मा सामाजिक तथा जीवनोपयोगी शिक्षालाई अनिवार्य विषयमा थप गरिएको थियो । योसँगै कक्षा ११ मा अनिवार्य विषय तीनवटा बनाइने भएको छ । पुरानो पाठ्यक्रममा भने अङ्ग्रेजी र नेपाली विषय मात्रै अनिवार्य विषयमा राखिँदै आएको थियो ।

सरकारले नयाँ पाठ्यक्रम अनुसार पठनपाठन गर्ने निर्णय गरेसँगै जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ का तीनवटै अनिवार्य विषयको पुस्तकसमेत प्रकाशिन गरिसकेको छ । साउनदेखि सुरु हुनुपर्ने कक्षा ११ को अध्यापन कोभिड १९ का कारण ढिला भएको छ भने पाठ्यक्रम परिवर्तनले थप अन्यौलता सिर्जना गरेको छ । 

यसैबीच नयाँ र पुरानो पाठ्यक्रमको विषयमा अभिभावकहरू र शिक्षकहरुमा भने मत भिन्नता देखिएको छ । नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले अन्यौलताको यस अवस्थामा सरकारले पुरानै कोर्षलाई निरन्तरता दिन निर्णय लिनुपर्ने बताएका छन् भने अध्यापन गराउने शिक्षकहरु सरकारको निर्देशन स्वीकार गर्दै धेरै विद्यालयमा नयाँ पाठ्यक्रम कार्यान्वयन गराइएकाले अब पुरानो पाठ्यक्रममा जानुपर्ने अवस्था आयो भने धेरै कठिन हुने बताएका छन् ।