काठमाडौं, २८ माघ । प्रहरीले २७ गते बिहिबार संरक्षित वन्यजन्तु भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा लमजुङ दोर्दी -८ खिन्चोकका मन बहादुर सिलुवाल क्षेत्री रहेको जनाएको छ । उनलाई टोखा ९ आनन्दटोलबाट २ सय ४० ग्राम तौल भएको भालुको पित्त (आखेटोपहार) सँग पक्राउ गरिएको हो ।
टोखामा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको  हो । 
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार  काठमाडौं पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।