काठमाडौं, २८ माघ । आज (शुक्रबार) राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६६औं वार्षिकोत्सव आज सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा एक समारोह गरी वार्षिक उत्सव मनाइएको हो । 
वार्षिक उत्सवको अवसरमा अनवरत रुपमा प्रतिष्ठान र अपराध अनुसन्धान विद्यालयमा सेवारत रहि घटनास्थल अनुसन्धान अधिकृत तालिम र अनुसन्धानात्मक अन्तर्वार्ता तालिमको थालनी एवं नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पुर्‍याइ अवकाश भएका प्रहरी उपरीक्षक जयबिष्णु नेपालीलाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’  प्रदान गरिएको छ । 
यस समारोहको बिच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा-२०७८’ को लोकार्पण समेत भएको छ । 
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले साइबर युगको वर्तमान अवस्थामा साइबर युगलाई अभ्यास गर्ने गरी अपराध अनुसन्धानको पद्धतिलाई विकास गर्नुपर्ने बताउँदै नेपाल प्रहरीले प्रशिक्षण पद्धतिमा परम्परागत प्रणालीको साथै आधुनिकतालाई पनि सम्बोधन गर्ने किसिमले प्रविधिप्रति दक्ष जनशक्ति उत्पादनका लागि आवश्यक पर्ने पाठ्यक्रम तथा पाठ्य सामग्रीहरु निर्माण गर्नुपर्ने  बताउनु भयो । प्रहरीले सर्वसाधरणलाई गर्नुपर्ने व्यवहारलाई मानवोचित बनाउन प्रशिक्षणका दौरान मानवोचित धर्म र कर्मलाई कसरी अक्षुण राख्ने भनि प्रशिक्षण दिनुपर्ने समेत बताउनु भयो ।