१. बीमा व्यवस्थित र योजना सहितको बचत हो । प्रत्येक बीमा कम्पनीहरु नेपाल सरकारद्धारा संरक्षित बीमा समितिको रेखरेद तथा नियमनमा रहेका व्यवस्थित संस्थाहरु हुन् । प्रत्येक बीमा कम्पनीहरुले आफ्ना ग्राहाकको पूनर्बीमा गरेका हुन्छन् जसले गर्दा बीमा अन्य संस्थाहरुमा गरेको बचत भन्दा धेरै गुणा सुरक्षित र भर पर्दो हुन्छ । बीमामा गरिने प्रत्येक बचतहरु केवल बचत मात्र नभइ कुनै न कुनै योजना अन्तगर्तका बचत भएकोले भोलिको प्रतिफल पनि अन्य बित्तिय संस्थाहरुमा गरिने बचत भन्दा उत्कृष्ट हुन्छ ।

२. बीमा, बिमित (बीमा गर्ने व्यक्ति) ले आफ्ना लागि गर्ने हो । बीमालेखमा छानिएको योजना तथा बीमा बचतको प्रत्यक्ष लाभग्राहि बिमित नै हो । कसैले ‘मेरा लागि गरिदिनु न’ भन्छ भने त्यो भन्ने व्यक्तिको गलत बुझाइ वा कमजोरी मात्र हो । जहाँसम्म बिमितले बीमा गर्दा तिरेको किस्ताबाट अभिकर्ताले लिने कमिशनको कुरा आउँछ, त्यो त अभिकर्ताको पारिश्रमिक मात्र हो, जुन बीमा समितिद्धारा नै निर्धारित हुन्छ । कुनै पनि पेशाको तलब वा प्रतिफल जस्तै अभिकर्ताको कमिशन हो ।

३. बीमा सुरक्षित र विश्वसनीय हुन्छ । बीमा ऐनद्धारा निर्देशित र बीमा समितिद्धारा अनुगमन हुने बीमा कम्पनीहरु भाग्लान् कि अथवा डुब्ला कि भन्ने हुँदैन । फेरी प्रत्येक ग्राहकको पूनर्बीमा हुने हुँदा यसमा जोखिमको कुनै सम्भावना नै रहँदैन ।

४. बीमा सहज जीवनका लागि गरिएको लगानी हो । बचतको प्रतिफल त छदैँछ, जस्तो सुकै परिस्थितिमा पनि हामीलाई हाम्रो हात समातेर माथि उठाउने एक मात्र हाम्रो नजिकको नातेदार नै बीमा हो । ब्यापारमा नाफा वा घाटा होस्, जागीरबाट कमाएको रकमले गरेको लगानीबाट राम्रो प्रतिफल आओस् वा नआओस्, छोराछोरीबाट राम्रो रेखदेख होस् वा नहोस् । यस्ता जुनसुकै अवस्था हुँदा पनि बृद्ध अवस्थामा कुनै फरक पर्नु हुँदैन। हो हामी सबैको बृद्ध अवस्था सम्मानजनक बनोस भन्ने चाहना पूरा गर्नका लागि आजै बाट आफ्नो मानवीय मूल्य बमोजिमको जीवन बीमा गर्न जरुरी देखिन्छ। साथै प्रविधिको विकास सँगसँगै प्रक्रियागत कुराहरु पनि छिटै टुंगिने भएकोले ‘बीमामा अनेक झण्झट हुन्छन्’ भन्ने पुरानै अवधारणा पनि सकिदै गएको छ ।

निष्कर्षः बीमा आफ्ना लागि आफुले नै तयार गरेको सहज जीवनयापनको योजना हो । जीवन बीमाले हाम्रो वर्तामानमा हामीलाई बचत गर्ने अभ्यास गराउँछ भने भोलिको जीवनप्रति उत्साहित पनि गराउँछ । बीमाले सुखद भविष्यको प्रत्याभुति पनि गर्छ । त्यसैले सम्मानित बृद्धावस्था, सफल भविष्य र सम्पूर्ण खुसीका लागि बीमा निर्विकल्प उपाय हो ।

लेखक: श्रीकृष्ण नेपाल, एमडिआरटी, स्टार एएम, यूनियन लाईफ इन्स्योरेन्स कम्पनी ।