किन गर्छौ दादागिरी कालापानीमा ?
हाम्रै पू्र्खा लडेका हुन् नालापानीमा
लिपुलेक नेपालका दर्चुलामा पर्छ
छिमेकी यो गोही भारत किन हडप गर्छ ?

टनकपुरको घाउ अझै टल्कीरहेको छ
देश प्रेमको आगो मनमा दन्कीरहेछ
गोर्खालीको खुकुरी यो धार गाको छैन
अझै तिम्रो खोपडीमा समझ आको छैन ?

शुक्रराज सहिद बने आफ्नै भाइले गर्दा
पापिस्ट त्यो बाली मर्यो भाइ-बुहारी हेर्दा
सत्यवादी विभुषणको कुरा नसुनेर
लङ्का जल्यो रावण मर्यो सत्य नबुझेर ।

तुच्छ मान्छे पापको धनले लोभको भाडो भर्छ
महान् सहिद देशको निम्ति प्राण हुनी गर्छ
जनताका भाव बुझी नेता अघि बढ
भोग विलास खोक्रो खाङ्को कुण्डमा नसड ।

पद पैसा पावरको दुरुपयोग गर्नुहुन्न
विदेशीका सामु दुई हात थापी मर्नु हुन्न
भाइ फुटे गवार लुटे त्यसै बन्या हैन
अनुभवले लेखेको हुँ त्यसै भन्या हैन ।।

              (डायमण्ड तिम्सिना रोङ-३,मार्से)