काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगले निकालेको पशु चिकित्सकको विज्ञापनप्रति नेपाल भेटेनरी एसोसिएसनले ध्यानाकर्षण भएको जनाएको छ । एसोसिएसनका अध्यक्ष डा.सितलकाजी श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै विभिन्न ७ वटा स्थानीय तहमा “पशु चिकित्सक” अधिकृत छैठौं तहको स्थायी पदपूर्तिका लागि एक तहमाथिको आवश्यक न्यूनतम शैक्षिक योग्यता राखी सूचना प्रकाशित गरेको भन्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।

प्रमाणपत्र तह विज्ञान विषयमा उत्तीर्ण गरी मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा ५ बर्षको अध्ययन पुरा गरी नेपाल पशु चिकित्सा परिषद्को लाईसेन्सिङ्ग परीक्षा उत्तिर्ण गरेका दर्तावाल पशु चिकित्सकहरु स्वास्थ्य सेवा अन्तर्गतका मेडिकल अफिसर, आठौं तह, सरहको पदमा नियुक्त हुनु पर्नेमा राजपत्र अनङ्कित प्राविधिकहरुको प्रोत्साहनको लागि समायोजनको क्रममा सिर्जना गरिएको छैठौं तहमै पशु चिकित्सकहरुलाई नियुक्त गर्नु खोजिनु पशु चिकित्सा व्यवसायको मर्यादा माथी गम्भिर आँच भएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त पदहरुलाई कम्तिमा सातौं तह कायम गरी योग्यता सच्याउन एशोसिएसन अनुरोध गरेको छ  ।  ‘यस एशोसिएसनले गत बर्ष यसैगरी प्रकाशित विज्ञापनको सम्बन्धमा मिति २०७७।१०।१४ गते बागमती प्रदेश लोक सेवा आयोगमा अनुरोध गर्दै उक्त पदहरुलाई कम्तिमा सातौं तह कायम गरी योग्यता सच्चाउनु हुन अनुरोध गर्दा गर्दै र सम्मानित सर्वोच्च अदालतमा उक्त विषयकै मुद्दा विचारधिन अवस्थामा रहेको अवस्थामा समेत यस बर्ष पनि सो आयोगले पुनः समान प्रकृतिको विज्ञापन प्रकाशित गरी त्यस्तो गरिमामय निकायबाट पटक पटक पशु चिकित्सा व्यवसायको मर्यादामा आँच पु¥याउने कार्य भएकोमा खेद व्यक्त गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञापन नसच्याइए कडा सङ्घर्षका कार्यक्रमहरु लिएर आउन बाध्य हुने पनि एसोसिएसनले चेतावनी दिएको छ ।