तिमी खाउ या भोकै बस
तिमी सुत या जागै बस ।
तिमी हाँस या रुँदै बस
तिमी बाँच या मर्दै गर ।
मलाई के मतलब ?
मतलब त !
केबल तिम्रो तलबको न छ।
तिमी साहुको ऋण चुक्ता
गराउने गरेर आऊ ।
या गाउँको झुपडी बन्धकी
फुकुवा गराउने गरेर आऊ।
आमाको च्यात्तिएको थोत्रो चोली
फेराउने गरेर आऊ।
या बाउको बुढेशकालको भारी
बिसाउने गरेर आऊ।
शहरमा कोठा लिएर बसेकि छु म ।
बाहाल तिर्ने गरेर आऊ।
तिमी,जवानी मै आऊ
या जवानी सक्किएपछि आऊ।
ठुलो बाकस बोकेर आऊ
या आफै बाकस भित्र कात्रोमा बेरिएर आऊ।
जीवित हुँदाको तलब पठाउ
या मृत्युपछिको जीवन बीमा पठाउ।
के नै फरक छ र ?
आखिर पैसा- पैसा नै त हो!
तिमी दुखले कमाउ
या सुख ले कमाउ ।
मलाई के मतलब ?
मतलब त केवल...!
महिनाको अन्त्य तिर आउने
तिम्रो रुपियाँको न हो।