काठमाडौं । विविध समस्याका बाबजुद १३ महिना पछि संवैधानिक परिषद्को बैठक आज साँझ बालुवाटारमा बसेको छ । सत्तारुढ दलको आन्तरिक विवादका कारण संवैधानिक परिषद्को बैठकमा कोरम नपुगेपछि अध्यादेश जारी गरेरै भएपनि बैठक बसेको हो । 

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्‍मा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ। तर सत्तरुढदलको आन्तरिक किचलोका कारण बैठक बस्न सबै सदस्य उपस्थित नहुने भएपछि मन्त्रिपरिषद्को सिफारीसमा राष्ट्रपतिले आजै अध्यादेश जारी गर्दै अध्यक्ष सहित बहुमत सदस्यद्धारा निर्णय  गर्न सकिने व्यवस्था भएपछि बैठक बसेको हो । 

संविधानको धारा ११४ बमोजिम राष्ट्रपतिद्धारा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र काेर्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी भएपछि प्रधानमन्त्री निवासमा बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन् ।

आज साँझ बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित भएका थिए । प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटा अनुपस्थित रहेका थिए ।

अध्यादेश मार्फत कार्यविधि संशोधन गरेर बसेको पहिलो बैठकमा संवैधानिक नियुक्तीको विषयमा छलफल भएपनि  ठोस केही निर्णय केहि नभएको प्रेस सल्लाहकार थापाले जनाएका छन् ।