जनगणनाको प्रारम्भिक नतिजा खै कस्तो-कस्तो
मतदाता नमावलीमा छु
तर राष्ट्रिय जनगणना अटाइँन जस्तो ।
नेतालाई चाहिने म र भोटर
देशलाई चाहिएन र त छुटायो होला
नत्र भोटरभन्दा कम जनसंख्या
कहाँ-कहाँ पुगेर टिपायो ?
कि चुनावको बेला बाहिरी भोटर
आएको रेकर्ड देखाउनु पर्यो- निर्वाचन आयोगले
हैन भने भोटरमा
बालबालिका पनि जोडजम्मा गरेर देखाउनु पर्यो-
राष्ट्रिय पञ्जिकरण विभागले ।
यहाँ अच्चम्म यो छ
तीन करोड नेपाली भन्दै
कराउने र अनुमान लगाउने
सबै फेल कसरी भए ?
यसरी कराउने त भोटरभन्दा बढी
उही भोटका भोका नेताहरु नै थिए ।
कि गन्नेले
डाँडाबाट देखिएको घरमात्र गने
खोल्सामा छलिएको धुरी गनेनन्
घरका करेसा बारी कोर्ने मात्र गने
जङ्गगलमा घाँस दाउरा गर्न गएका गनेनन्
घरमा केटा केटी स्याहार्ने श्रीमती मात्र गने
खाडीको तातो घाममा रगत र पसिना बगाउँदै
देशलाई रेमिट्यान्स पठाउने श्रीमान् गनेनन्
कि गाउँका थोत्रा घरहरु देखेर
त्यहाँ नि मान्छे बस्छन् भन्ने हेक्का पाएनन् ।
कि त, घरका मान्छे बाठो भएर
पाँच जनाको जनमा तीन जना मात्र टिपाए
किनकी
वर्षै पिछे थपिने देशको ऋण
प्रत्येक नागरिकको टाउकोमा हिसाब गर्दा
अन्ठाउन्न हजार पर्छ भन्ने समाचार भरखरै आको थियो
ऋण किन धेरै तिर्नु भनेर ।
जे भयो-भयो तर,
जन गणनाको डाटा त एकिन हुनैपर्छ
लोक सेवा पढ्दैछु मै पनि घोक्नु पर्छ
जनगणना कै प्रश्नमा अल्मलिएर फेल भएँ भने
बाउ आमाले फेरी भन्नु होला
हामीले सन्तान हैन
भोटर मात्र जन्माएछौँ ।
यो प्रारम्भिक हो
फाइनल आउन बाँकी छ
सच्याए डाटा सच्याउ पञ्जिकरण विभाग
निर्वाचन आयोग त ढुक्कै छन्
झगडा गर्नलाई नेताहरु छँदैछन्
चुनावको बुथ लिएर गाउँगाउँ पुग्दा
भोटरको लस्कार छँदैछ ।
साँची हौ यो...
जनगणनाको प्रारम्भिक नतिजा पनि कस्तो-कस्तो
म छु उनी छैन जस्तो
हामी छौ हाम्री छोरी छैन जस्तो
म शहरमा बस्छु
मेरो गाउँको घरधुरी छैन जस्तो
अहो चाँसी अरु सबै छन् त
मै पो छुइन त जस्तो ।।