१२ माघ, पर्सा । वीरगंज नाकाबाट एक जना बालिकालाई बेचविखनका लागि भारततर्फ लादै गरेको अवस्थामा एक जनालाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा अर्घाखाँची सन्धिखर्क-७ घर भई हाल चितवन भरतपुर-१ पोखरा बसपार्क बस्ने २८ वर्षीय राजु अधिकारीलाई पक्राउ गरेको हो ।
बैतडीकी १४ वर्षीया बालिका माघ ७ गतेदेखि घरबाट सम्पर्क बिहीन भएकोपछि घटनाको अनुसन्धान एवम् खोजतलास सुरु भएको थियो ।
घटनाको अनुसन्धान हुने क्रममा पर्साको वीरगंज-१६ स्थित शंकराचार्य गेट हुँदै भारततर्फ लादै गरेको अवस्थामा बालिकालाई फेला पारी माइती नेपाल संस्थाको समन्वयमा प्रहरीले उद्धार गरेको थियो ।
बालिकाका साथै अधिकारीलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान गर्दा बालिकासँग एक महिना अघिदेखि फोनमार्फत चिनजान गरी भेट्न बोलाएको खुलेको छ । भेटघाटपछि अर्घाखाँचीमा विवाह गर्ने भनी विभिन्न स्थान हुँदै झुक्याई वीरगंज बसपार्कसम्म ल्याई ईनर्वा नाका हुँदै भारततर्फ बेचबिखन गर्न लैजान लागेको खुलेको प्रहरीले जनाएको छ ।
अधिकारीलाई जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

