||१||
मोटर लगाउ माथि चढाउ पानी तल झरेकै हुन्छ ।।
चाहे भत्कियोस साँघु जिन्दगीले खोला तरेकै हुन्छ ।।
लाख देउता भाकेर बल पुकार या गर जालझेल,
रित्तो फिर्दैन माझी पर्ने माछा जालमा परेकै हुन्छ ।।
||२||
दिन्छु-दिन्छु भन्दै यहाँ आफ्नैले लुटेर जान्छ ।।
सम्हाल्दा सम्हाल्दै पनि जिन्दगी टुटेर जान्छ ।।
नपुग्ने सपनाको अभिलाषाले मन बहकिँदा,
जिन्दगीका कयौँ सुन्दर पक्षहरू छुटेर जान्छ ।।
||३||
जिन्दगी अनन्त जेल्लिएको आश मात्रै हो ।।
भोगेर नसकिने सपनाहरूको रास मात्रै हो ।।
एक दुई हात कहिले काहीँ बाजी मारे पनि,
नाइ-नाइ गर्दै सब हार्ने खेल तास मात्रै हो ।।