११ माघ, जनचासो खबर । पर्सा जिल्लाको जगरनाथपुर -६ का मन्टु प्रसाद कुर्मीको हत्या अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । १२ वर्षिय मन्टु प्रसाद नागेसर प्रसाद कुर्मीको छोरा हुन् ।
हत्य अभियोगमा पक्राउ पर्नेमा जगरनाथपुरको ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधन प्रसाद यादव, ३० वर्षीय मनमोहन प्रसाद यादव र २५ वर्षीय रोहन प्रसाद यादव रहेका छन् ।
गत पुस २३ गते दिउँसो जगरनाथपुर गाउँपालिका-६ स्थित ऊखु बारीमा मन्टु प्रसादको शव फेला परेको थियो । हत्या गरी फालिएको शवको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले छिपहरमाई गाउँपालिका-६ भिष्वास्थित नेपाल भारत सीमाबाट हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पाँचै जनालाई अपहरण तथा कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

