काठमाडौं। प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका-२०७५ संशोधन गरेर श्रमिकहरूको ज्याला बढाउने निर्णय सरकारले गरेको छ। अब सञ्चालित आयोजनामा काम गर्नेहरूको ज्यालालाई समायानुकुल बनाउन र श्रमिकको बीमा अनिवार्य गरेर श्रमिकको ज्याला बढाएर ५७७ पुर्‍याईएको हो।

यसअघि मासिक १३ हजार रुपैयाँ न्यूनतम् ज्यालाका आधारमा ज्यालादर तय भएकोमा अहिले गत साउनबाट न्युनतम् १५ हजार पुगे अनुसार ज्याला बढेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार स्थानीय रोजगार केन्द्रमा सूचीकृत बेरोजगारलाई रोजगार कार्यक्रम अन्तरगतको आयोजनामा काम लगाउँदा न्युनतम् ५७७ रुपैयाँ वा सम्बन्धित स्थानीय तहले निर्धारण गरेको ज्याला दरको ८० प्रतिशत नबढ्ने गरी हुने रकममध्ये जुन बढी हुन्छ, सोही रकम श्रमिकलाई उपलब्ध गराउनुपर्ने छ । यसअघि यस्तो ज्यालादर ५१७ रुपैयाँ थियो । बढेको ज्यालापछि अब श्रमिकले दैनिक ६० रुपैयाँ बढी ज्याला पाउनेछन् ।

कार्यक्रममा सूचीकृत भएका सात लाख ८ हजार ४२ श्रमिकमध्ये तीन लाख ७१ हजार पुरुष छन् भने ३ लाख ३७ हजार महिला छन् । यो वर्ष २ लाख श्रमिकलाई न्युनतम् १०० दिनको रोजगारी दिने कार्यक्रमको लक्ष्य सरकारको छ । अहिलेसम्म ६७१८ जना मात्रैले कार्यक्रम अन्तरगत काम पाएका छन् ।

देशभर पाँच अर्ब ३७ करोड खर्च गर्ने गरी ११ हजार ६०९ वटा आयोजना कार्यक्रम अन्तरगत सञ्चालनको तयारीमा रहेको सरकारले यो वर्ष १२ अर्ब तीन करोड रुपैयाँ सङ्घले कार्यक्रमका लागि स्थानीय तहमा पठाउँदै छ ।