काठमाडौं । पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानबिन समितिले सिफारिस गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा छानबिन समितिले मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई बुझाएको प्रतिवेदनमा सम्झौता खारेज गर्न सिफारिस गरिएको हो ।

बतास समूहले पशुपति विकास कोषसँग धर्मशाला भाडामा लिएर महँगोमा होटल चलाएको भन्दै व्यापक आलोचना भएपछि मन्त्रालयले छानबिनका लागि समिति बनाएको थियो ।

प्रतिवेदन बुझ्दै पर्यटन मन्त्रालयका सचिव न्यौपानले गैरकानूनी र मिलेमतो भएको ठहरसहित सम्झौता खारेज गर्न छानबिन समितिले सिफारिस गरेको बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तथा छानबिन समितिका संयोजक नारायणप्रसाद सुवेदीले कोष र बतास समूहबीच भएको सम्झौताका शर्तहरु निर्धारण गर्दा कानून बमोजिम पदीय दायित्व निर्वाह नभएको बताउनु भयो ।

नेपाल भारत मैत्री धर्मशाला भारत सरकारको सहयोगमा निर्माण भएको हो । धर्मशाला नितान्त धर्मशालाको रुपमा प्रयोग गर्नुपर्ने भए पनि यहाँ गाडीको ग्यारेजसमेत निर्माण गरेको समितिले जनाएको छ ।