जनकपुर। प्रदेश नं. २ को नाम र राजधानी प्रदेशसभाले टुङ्गो लगाएको छ। प्रदेशको नाम मधेश नामाकरण भएको छ भने स्थायी राजधानी जनकपुर हुने भएको छ।

सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभाको नाम मधेस प्रदेश राख्ने प्रस्ताव दुई तिहाई बहुमतका साथ पास गरेको हो। सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिए ।

सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए । जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो ।

तर अरु दलका १६ सांसदले पनि प्रदशेको नाम मधेश राख्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

मधेश नाम स्वीकृत भएपछि अब अन्य नाम स्वतः निष्कृय भएको सभामुख सरोज कुमार यादवले जानकारी दिए । कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए ।