जनचासो । झापाको दमक नगरपालिका-२ हुम्से-दुम्से सामुदायिक जंगलबाट अवैध लागूऔषध गाँजा १२ किलो र चरेस ६ ग्राम २ सय ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ईलाम माईसेबुङ गाउँपालिका-२ बस्ने ३२ वर्षीय दिपेन्द्र राई र सोही ठाउँ बस्ने १९ वर्षीय नुवसन मुखिया रहेका छन् । प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरीलाई देख्नासाथ मे.३ प ५६६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरु भागेपछि तत्काल नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत झापाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कास्की, पोखरा महागनरपालिका-१ भैरब चोकबाट नियन्त्रित लागूऔषध १ सय २१ एम्पुल डाइजेपाम, १ सय २१ एम्पुल फेनारगन र १ सय २१ एम्पुल नर्फिन सहित सोही महानगरपालिका-९ न्यूरोड बस्ने १९ वर्षीय रोहित बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर लागू औषध सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
भक्तपुर, भक्तपुर नगरपालिका-५ खसी बजारबाट करिब ५६ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका भेलुखेल बस्ने ३७ वर्षीय लक्ष्मी नारायण देउलालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बा.५३ प ७८२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै सर्लाही, मलंगवा नगरपालिका-८ लच्काबाट भारत सितामढी सोनबर्षा ग्राम-९ बस्ने ३२ वर्षीय अजय कुमार महतोलाई ७५ पिस नियन्त्रित लागूऔषध नाईट्राभेट सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

