-दान बहादुर सुनार

बिषय प्रवेशः

आधुनिक परिवेशसँगै हाम्रा आवश्यकताहरू पनि बदलिदै जान्छन् र जीवनशैली पनि फेरिदै जान्छन् । जोकोही व्यक्ति पनि आफ्नो छुट्टै पहिचान कायम गर्न चाहन्छ । छुट्टै पहिचान र अस्तित्व कायम गर्न लागिपरेका हामीहरुलाई सफलता कसरी प्राप्त गर्ने भन्ने कुरा ठुलो चुनौतीको बिषय बन्न पुग्छ । सफल हुने रहर कसलाई हुँदैन र ?  तथापी केहि थोरै व्यक्ति मात्र सफल भएका हुन्छन् । धेरै व्यक्तिहरु सफलतालाई कहिल्यै भेट्टाउन सक्दैनन्। हाम्रो समाजमा विभिन्न प्रकारका व्यक्तिहरु छन् । एउटा कस्ता प्रकारका हुन्छन् भने उहाँहरुलाई भबिष्यको चिन्ता नै हुँदैन । सफलता भनेको के हो भन्ने नि थाहा हुँदैन र थाहा पाउन आवश्यक पनि ठान्दैनन् । उहाँहरु वर्तमानमा रमाईरहेका हुन्छन् । भित्रभित्रै उहाँको भविष्य अन्धकारको कालो बादलले मडारिरहेको हुन्छ। त्यही समाजमा कोही अलि फरक खालका व्यक्ति हुन्छन् । उहाँहरुलाई सफल कसरी हुने भन्ने रातदिन पीर परिरहेको हुन्छ । सफलताको खोजीमा दौडिरहेका हुन्छन् तर सफलता प्राप्त गर्ने तौर तरिका र कार्यशैली नहुँदा सफलतालाई कहिल्यै भेट्टाउन सक्दैनन् । तसर्थ यीनै कुराहरुलाई मध्यनजर गरेर हामीले जीवनमा सफल कसरी बन्ने भन्ने थोरै टिप्सहरु प्रस्तुत गरेको छु ।

यस्ता बानी भएका व्यक्तिहरु असफल हुन्छन्:

•    असफल हुनुको कारण भाग्यलाई दोष दिई बस्ने, असफल हुनुको कारण पत्ता नलगाई भाग्यलाई नै दोष थुपारी राख्ने । 
•    आफ्नो लक्ष्य निर्धारण नगर्ने, भबिष्यमा के बन्ने र के गर्ने भन्ने कुराको कुनै योजना तय नगर्ने । 
•    निहुँ बनाएर कामलाई पन्छाउने । 
•    असफलतामा आत्तिने र सानो ‍सफलतामा पनि धेरै मात्तिने ।
•    बिना योजना काम गर्न खोज्ने । 
•    अहिलेसम्म के के काम गरियो र अब के काम बाँकी छ भन्ने कुराको कुनै अभिलेख नराख्ने । 
•    साना साना काममा ठुलो तनाव लिने, कुनै पनि काम ध्यान लगाएर गर्न नसक्ने, साना समस्यालाई पनि ठुलो रुपमा लिने । 
•    सकारात्मक सोच नराख्ने, कुनै कार्यमा पनि नकारात्मक धारणा बनाउने। 
•    मनोरन्जको लागि समय नछुट्याउने । 
•    विदाका दिनहरुमा के गर्ने भन्ने पूर्वयोजना नवनाउने । समयतालिका नहुँदा जीवन अस्तव्यस्त हुन जान्छ। जसले गर्दा कुनै निश्चित उद्देश्य प्राप्ति गर्न सकिदैन । 
•    आफ्नो प्राथमिकता निर्धारण गर्न नसक्नु । जति वेला जसले जे भन्यो त्यहि काम गर्दै जाँदा आफ्नो प्रमुख काम नै अलपत्र परिहेको हुन्छ । 

सफल हुन के गर्ने ?

•    सफलताको मुख्य हतियार शिक्षा नै हो । बौद्धिक ज्ञानले भरिपूर्ण बन्नलाई विभिन्न पुस्तक पढ्नुका साथै जीवनपयोगी सभा, सम्मेलन, गोष्ठी एवं समारोहहरूमा सहभागी बन्ने गरौ ।
•    जीवनमा निश्चित लक्ष्य निर्धारण गरौ र उक्त लक्ष्य पुरा गर्न कटिवद्ध भएर लागौ । 
    
•    बोली वचन र कार्यशैलीमा सुधार गरौ । मिठो बोली बचन् र असल संस्कार सिकौँ । आफ्नो कार्यक्षेत्रसँग मेल खाने र आत्मविश्वास बढाउने खालका पहिरन लगाऔँ । 
•    हरेक सफलताका पछाडि असल मित्रको पनि हात हुन्छ । यस्तो मित्र बनाउनुहोस् जसले कठिन परिस्थितिमा पनि साथ दिएर अघि बढ्न सघाओस् । आफ्ना लागि होइन अरुका लागि बाँच्न सिकौँ। 
•    उच्च मनोवलयुक्त र दृढ आत्मविश्वासी वनौँ ।  एकदिन अवश्य सफलताको शिखर चुम्नेछौँ । 
•    गीत संगीतले मनमा सकारात्मक उर्जा पैदा गर्ने भएकाले गीत संगीतको लागि पनि समय छुट्याउने गरौँ।
•    दानवी व्यवहारलाई त्यागौँ। अरुको घोचपेच र निन्दा नगरौँ। 
•    समय मूल्यबान हुन्छ। समयको सदुपयोग गर्न सिकौं। 
•    सधै सकारात्मक सौचौँ। सकारात्मक सोचलाई जीवनको मन्त्र बनाऔँ । 
•    निःस्वार्थ भाव राखौँ । सम्पूर्ण मानव जातिलाई भातृत्वको भाबनाले हेरौँ । 
•    त्यो काम गरौँ जुन काम गर्न रहर लाग्छ र आनन्द पनि आउँछ । तर काम चाही सकारात्मक हुनुपर्यो। 
•    धेरै सुन्ने र थोरै मात्र बोल्ने गरौँ ।
•    एउटा आदर्शवान र रोल मोडल बन्ने प्रयास गरौँ । 
•    आफूले आफुलाई बिस्वास गर्नुहोस । आफूले गरिरहेको काममा दृढ विश्वास राखी अगाडी बढौँ । 
•    कडा भन्दा कडा मेहनत गर्नुहोस । निरन्तर रुपमा परिश्रम गरिराखौँ । 

यी कुराहरु कहिल्यै नगरौँ:

•    अरुको प्रशंसा गर्न कन्ज्युस्याई नगरौँ। अरुको जथाभावी आलोचना गर्ने काम पनि नगरौँ। 
• अरुको सफलतामा जल्ने र असफलतामा धेरै खुशी हुने बानी त्यागौँ । 
• यताको कुरा उता र उताको कुरा यता लगाई‌ द्वन्द्व सिर्जना गराउने काम नगरौँ । 
• अरुबाट लिएको ऋण भनेको समयमा फिर्ता गरौँ । ऋण दिने मान्छेसँग नै डाह नगरौ र उसलाई बोझको रुपमा कहिल्यै नहेरौँ। 
• अरुको विवाह, परिवार लगायतका नितान्त निजी मामिलामा धेरै घुस्न नखोज्छौ । 
• होटलमा साथीहरु वा आफन्तहरुसँगै खाएपछी बिल तिर्न कन्जुस्याई नगरौँ । 
• अरुले बोलेको सुन्दै नसुनी आफूमात्रै वोल्या वोल्यै नगरौ । 
• अरुले वोलिरहेको बेला कुरा नसकिदै प्याच्च बिचैमा नवोलौँ ।
• आफूभन्दा कमजोर मान्छेलाई सम्मान र हौसला दिने गरौँ
• अरुका फरक विचार र मतको आलोचना नगरौँ सम्मान गरौ ! 
• अरुको शारीरिक बनावट र कमजोरीमा टिका टिप्पणी नगरौ । 
• चाहिने कुरा भन्दा अनावश्यक फाल्तु कुरा नगरौँ । 


 निष्कर्शः 

मानव भएर जन्मिसकेपछि असल मानव बन्ने प्रयत्न गरौँ। एउटा आदर्शवान र रोल मोडल बन्ने प्रयास गरौँ । कसैप्रति ईर्ष्या र डाह नराखौ । अरुलाई गलत नजरले नहेरौँ । जीवनमा सफल व्यक्ति बन्ने प्रयास गरौँ । असफलता बाट कहिल्यै नडराऔँ । कुनै पनि सफल व्यक्तिहरु एकपटक असफल नै थिए । त्यही असफलताबाट पाठ सिक्दै पछि सफल भएका हुन् । त्यसैले हामीले असफलताबाट कहिल्यै नडराउ । त्यसबाट पाठ सिक्दै यात्रालाई झन मजबुत बनाउँदै अगाडि बढौँ । समाजमा विभिन्न थरीका व्यक्तिहरु हुन्छन् । उनीहरुका कुरा सुनेर आफ्नो यात्रालाई कहिल्यै नडगमगाउँ । सकारात्मक सोच भएका व्यक्तिहरुले तपाईको असल कामको जहिले नि प्रशंसा गर्छन् र तपाईलाई अझ अगाडी बढ्न उत्प्रेरणा प्रदान गर्दछन् तर नकारात्मक सोच भएकाहरु तपाई अगाडि बढेको राम्रो मान्दैनन् । तपाईका राम्रै काममा पनि खोट खोजिरहेका हुन्छन् । तपाईका राम्रै कामको पनि आलोचना गर्न खोज्छन । तीनीहरु आफै पनि असफल हुन्छन र अरुलाई पनि असफल नै भएको हेर्न चाहन्छन् । तसर्थ जीवनलाई योजनाबद्ध रुपमा अगाडि बढाऔँ । निश्चित लक्ष्य निर्धारण गरौ । सधै सकारात्मक सौचौँ । आफ्नो लक्ष्यमा निरन्तर रुपमा लगनशील भएर अगाडि बढौँ । कडा परिश्रम गरौँ । अवश्य पनि सफल हुनेछौँ ।

(लेखकः नेपाल सरकारका कानून अधिकृत हुन्)