काठमाडौं। सरकारले ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनेको ‘बुस्टर’ डोज खोप अभियान स्थगित गरेको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै केही लक्षित वर्षका लागि कोभिड–१९ खोपको थप मात्रा दिने कार्यक्रम स्थगित गरिएको जनाएको हो।

‘सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकाले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गर्न आवश्यक छ। त्यसैले थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने व्यहोरा सबैमा हार्दिक अनुरोध छ’ प्रवक्ता सङ्गिता कौशल मिश्राले जानकारी दिए ।

सरकारले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई मंगलबारदेखि थप एक मात्रा खोप दिने भनी सोमबार सूचना जारी गरेको थियो । तर त्यसै सूचनाअनुसार खोप केन्द्रमा पुगेका जेष्ठ नागरिक र दीर्घरोगीले खोप पाएका थिएनन् ।