काठमाडौँ । सरकारले कोभिड १९ विरुद्धको बुस्टर खोप दिने निर्णय गरेको छ ।

कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेका व्यक्तिहरूलाई जुन खोप लगाएको हो सोही प्रकृतिको खोप थप एक अतिरिक्त मात्रा दिइने भएको हो । यो बुस्टर डोज नभइ कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई दिइने थप एक अतिरिक्त मात्रा हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले भोलिदेखि नै अतिरिक्त खोप दिन सुरु गरिने बताए । उनले भने, ‘अतिरिक्त खोप लक्षित समूह जस्तै रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई दिइनेछ भने बुस्टर डोज सबैलाई दिइनेछ ।’

केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई खोपको अतिरिक्त डोज दिने सिफारिस गरेको थियाे ।

क–कसले पाउनेछन्?
-मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति
-सक्रिय क्यान्सर पीडित
-अंग प्रत्यारोपण गरेका बिरामी
-एचआइभी भएका बिरामी
-उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरू सेवन गरिरहेका बिरामी
-साथै भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथि उमेरका व्यक्ति

उल्लेखित समूहमा पर्ने लक्षित व्यक्तिहरूले खोप कार्डसहित नजिकैको स्वास्थय संस्थामा गई थप मात्रा खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

सोमबारसम्म देशभरी कुल जनसंख्याको ४७.३ प्रतिशतले कम्तीमा एक मात्राको खोप लगाइसकेका छन् भने पूर्ण मात्राको खोप ३४.९ प्रतिशतले लगाइसकेका छन् । खोप अभियान सुरु भएदेखि अहिले सम्म कूल २ करोड ४९ लाख५८ हजार ४ सय ८० मात्रा खोप लगाइएको छ ।