काठमाडौं । बागमती प्रदेश सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईंले दुई हप्ताभित्र प्रदेशका सबै किसानले रासायनिक मल पाउने बताउनुभएको छ ।

काभ्रेको पनौतीस्थित मिलिजुली कृषक समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले सरोकारवाला निकायसँग छलफल भइरहेकाले एकहप्तापछि मलको सहज आपुर्ति हुने र दुइहप्ताभित्र आवश्यक मल उपलब्ध गराइसक्ने बताउनुभयो ।

मलको समस्या दीर्घकालिन रुपले समाधानका लागि प्रदेशका विभिन्न स्थानमा गोदाम घर बनाएर अर्को वर्षका लागि पनि आवश्यक मलको जोहो गर्ने उहाँको भनाइ छ ।

प्रदेश सरकार आफैंले मल कारखाना खोल्ने तयारीसमेत गरिरहेको मन्त्री हुमागाईंको भनाइ छ ।

आफू मन्त्री भएपछि ५१ वटा प्राथमिकता निर्धारण गरेको भन्दै उहाँले कृषि र पशुपालन क्षेत्रको विकास र कृषकको उन्नति मुख्य प्राथमिकता भएको बताउनुभयो ।