काठमाडौं। केहि समयदेखि हरियो तरकारीको मूल्य महँगिएको छ। हिउँदमा उत्पादन हुने आलु, काउली, बन्दा, मटरकोसा, गोलभेडा लगायतका तरकारीको मूल्य थोकमै बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बजार विकास समितिले थोकमै किलोमा २० देखि ३० रुपैयाँसम्म यस्ता तरकारीको मूल्य बढेको छ। उत्पादनको स्रोतमै मूल्य बढेका कारण यसपटक बजारमा पनि मूल्य बढेको व्यवसायीले बताउने गरेको बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठले बताए ।

गत वर्ष थोकमा किलोमा ५५ रुपैयाँ रहेको काउलीको मूल्य यस वर्ष ७५ रुपैयाँ छ । गत वर्ष ३० रुपैयाँ किलो रहेको बन्दाको मूल्य यो वर्ष १५ रुपैयाँले महँगो छ ।

यस्तै ५५ रुपैयाँको मटरकोसा ७५ रुपैयाँ पुग्दा ५५ रुपैयाँको गोलभेंडाको मूल्य ९५ रुपैयाँ पुगेको छ । गत वर्ष १२ रुपैयाँमा पाइएको सेतो मुलाको मूल्य यो वर्ष ३० रुपैयाँ कायम भएको छ । ४७ रुपैयाँ किलोको रातो मुलाको मूल्य यस वर्ष ६५ रुपैयाँ पुगेको छ ।

गत वर्ष थोकमा ५५ रुपैयाँमा खरिद बिक्री भएको ब्रो काउलीको मूल्य यो वर्ष ८५ रुपैयाँ पुगेको पनि बजार विकास समितिले जनाएको छ ।

गत वर्ष एक सय रुपैयाँ हाराहारीमा मात्रै खरिद बिक्री भएको सुन्तलाको मूल्य पनि यो वर्ष १३० देखि ४० रुपैयाँसम्म पुगेको पनि समितिले जनाएको छ । समितिका अनुसार थोकमै मूल्य बढेपछि त्यसको असर खुद्रामा पनि परेको छ ।

बजारमा अहिले दैनिक ४ देखि ७ लाख किलो तरकारी दैनिक भित्रिरहेको बजार विकास समितिले जनाएको छ । पुसको १५ दिनमा मात्रै बजार कुल १ करोड ४ लाख ३४ हजार किलो तरकारी भित्रिएको छ ।