काठमाडौं। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार देशभर बैंकिङ कसुरका घटना ह्वात्तै बढेको जनाएको छ। जघन्य अपराध घटेपनि बैंकिङ कसुरको घटना अघिल्लो आर्थिक वर्षको तुलनामा १०५ प्रतिशतले बढेको देखिएको छ।

कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, आत्महत्या, करणी जस्ता अपराधहरुमा कमी आएको  तर चोरी, बैकिङ कसुर, लागु औषध, ठगी जस्ता घटना भने बृद्धि भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए ।

गएको पाँच महिनाको अवधिमा सबैभन्दा धेरै बैंकिङ कसुरका घटना बढेको प्रवक्ता कुँवरले जनाएका छन् । ‘पाँच महिना अगाडिसम्म लकडाउनले धेरै प्रभाव पारेको थियो । मानिसहरु घरमा नै थिए । जसले गर्दा चोरी र अन्य अपराधिक गतिविधि भएको थिएन । अहिले मानिस घरमा नभएकाले गर्दा पनि चोरीको घटना बढेका छन्,’ एसएसपी कुँवरले भने।

गएको पाँच महिनामा देशर २४६ वटा हत्या भए । तर, सोही समयको अघिल्लो आर्थिक वर्षमा २९० वटा हत्याका घटनाहरु भएका थिए।  आर्थिक वर्ष २०७७/७८ मा २ हजार ९५८ जनाले आत्महत्या गरेका थिए । चालु आर्थिक वर्षमा आत्महत्याको सङ्ख्यामा कमी आएको छ । चालु आबमा २ हजार ६२८ जनाले आत्महत्या गरेका छन्। यो तथ्याङ्क अघिल्लो आवको भन्दा ११ प्रतिशतले कम हो ।

प्रवक्ता कुँवरका अनुसार करणीका घटनामा पनि ९ प्रतिशतले कमी आएको छ। गएको पाँच महिनामा ९९३ वटा करणीका घटना भएका छन् । गत आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा १०९७ वटा यस्ता घटना भएका थिए । हातहतियार खरखजना सम्बन्धी अपराधमा २१ प्रतिशतले कमी आएको छ।  आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा मा ११३ वटा घटना भएकोमा यस चालु आव को ५ महिनामा ८९ वटा घटना प्रहरीमा दर्ता भएका छन् ।

चालु आर्थिक वर्षमा बैकिङ कसुर सम्बन्धी घटना १०५ प्रतिशतले यस्ता घटनाहरु बढेको प्रहरी प्रवक्ताले जनाएका छन्। चालु आर्थिक वर्षको पाँच महिनामा १ हजार ८०७ वटा बैकिङ कसुर सम्बन्धि घटना दर्ता भएका हुन् । आर्थिक वर्ष २०७७/७८ मा ८८० वटा मात्र बैकिङ कसुरका घटना भएका थिए ।

त्यस्तै, चोरीको घटना पनि ३५ प्रतिशत माथि बृद्धि भएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा १ हजार २३७ वटा चोरीका घटना भएको देखिन्छ। आर्थिक वर्ष २०७७/७८ मा  ९ सय १६ वटा मात्र घटना भएका थिए ।