-प्रनिका तामाङ, (हाल जापान)
सायद लाखौँ सरीले भरिएका नदीहरूले पनि
मैले तिमीप्रति गरेका घातहरू पखालीन्न होला नि है!
आँशुले भरेर टल्किरहेका तिम्रा ति आँखा,
अनि आँखाबाट झरेका ति आँसुले भिजिरहेका ति तिम्रा गाला र पीडाले
गिडगिड गर्दै कामिएका ति तिम्रो मधुर बोली
"जिन्दगीका सारा खुसी तिम्रो अन्जुलीमा दिन्छु नि है" भन्दै
छेकेका मेरा बाटा अनि समातेका मेरा यि नाडी,
ति अङ्ग अङ्ग ले पनि सराप्छ होला नि है !!
याद छ तिम्लाई ?
तिमीले गरेका प्रस्ताव,
अनि मैले गरेको अस्वीकारको त्यान्द्राहरूबाट
सुरु भएका हाम्रा प्रेमका लहराहरू,
बिहानीदेखि रात्रीसम्मका ती यात्राहरू,
गरेर नथाकीने ती म्यासेज र कुराका वर्षातहरू,
दुरीको अभावमा काटेका ती रातहरू,
सम्झिन्छु नि म तिमीलाई कहिलेकाँहि,
अनि बहकाउँछु
खै कसरी काट्यौ होला तिमीले म बिना तिम्रा ति दिनहरू ?
तिम्रा प्रेमका महललाई
मेरा धोकाको हुरीले ढलाए,
मायाका रङ्गिन बगैंचालाई
घृणाका सागरले बगाए,
सायद अब कहिले बढ्न नसकिने गरी
प्रेमरुपी रुखको जराबाटै भाँचिदिए!!
उफ्.....
म विवस थिँए
मेरो प्रेमको कहानीमा समयको राज चलिरहेको थियो,
म हारे भगवान, तिम्रो लिला अपरम्पारको खेलले जित्यो,
म थाके भगवान अब, साथमा हुँदा देखाउन नसकेको याद र
गर्न नसकेको मायामै आधा जिन्दगी बित्यो।
-------------------------------------------------------