काठमाडौं। सरकारले दक्षिण अफ्रिका सहित ९ देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने भएको छ। आज बसेको मन्त्री परिषद् बैठकले  दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने भएको हो।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो।

मन्त्रिपरिषद्को निर्णय अनुसार उनीहरुलाई शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय भएको छ। हाल ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले भने अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने छ ।

पछिल्लो समयमा ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रन) भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो । संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा रोक्ने निर्णय समेत गरिएको स्रोतले जनाएको छ।