काठमाडौँ । अटो व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडामा सर्वसम्मतको प्रयास असफल  भएपछि अध्यक्षका प्रत्याशीद्वय करण चौधरी र ध्रुव थापाले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्। 

नाडाका उपाध्यक्ष करण चौधरीले आफ्नो प्यानल घोषणा गरेका छन् । आगामी कार्यकालका निमित्त अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका चौधरीले टिम बनाएका हुन् ।

चौधरीको प्यानलमा अभिक ज्योति, अनुप बराल,सुरेन्द्र उप्रेती, राजनबाबू श्रेष्ठ, देवराज भण्डारीलगायत छन् । चौधरीको टिममा व्यवसायी चन्द्र ढकालका छोरा निसान ढकालसमेत छन् । चौधरीलाई टाटाको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङको साथले बलियो मानिएको छ ।

थापाले भने आफू पूर्वउपाध्यक्ष भएकाले यस पटक आफ्नो दावी रहेको बताएका छन् । आफूले यसअघि पनि नेतृत्वका लागि दाबी गरेको भएपनि सहमतिका लागि त्याग गरेको भन्दै थापाले यस पटक त्यस्तो त्याग हुन नसक्ने बताए ।