नेपालगञ्ज। घुम्ति शिविर कार्यक्रम सञ्चालन गर्न मुगु हिडेको सूचना तथा प्रसारण विभागको टोलीलाई नेपालगञ्ज विमानस्थलमा युथ टुडे न्यूज डटकमका सम्पादक तथा मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केेन्द्रका अध्यक्ष आलम खान र हाम्रो जनादेशका सञ्चालक चन्द्र बोहोराले स्वागत गरेका छन्। मुगुमा मंसिर ८ देखि १० गतेसम्म घुम्तिशिविर सञ्चलान गर्न हिँडेको टोलीलाई मंगलबार नेपालगञ्ज विमानस्थलमा स्वागत गरेका हुन्।

विभागको टोली वार्षिक कार्यक्रम अन्तर्गत पत्रकारहरूलाई प्रेस प्रतिनिधि प्रमाणपत्र जारी/नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता/नवीकरण लगायत छापा तथा प्रसारणसँग सम्बन्धित सेवाहरू र दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरूका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्न मुगुको सदरमुकाम गमगढी प्रस्थान गरेको हो। विभागका निर्देशक सुदिप भट्टराई नेतृत्वको टोलीमा शाखा अधिकृत केशवराज शर्मा, लेखा अधिकृत केशव प्रसाद रेग्मी, प्रशिक्षक प्राध्यापक डा. विजय मिश्रा, खगेन्द्र कार्की, अधिकार बुढा र बिष्णु सुबेदीलाई सम्पादक खानले विमानस्थलमा खादा ओढाएर स्वागत गेका हुन्।

सूचना तथा प्रसारण विभागका निर्देशक भट्टराईले दुर्गमका पत्रकारहरुको राहतका लागि शिविर सञ्चालन गरिदै आएको बताए। निर्देशक भट्टराईले भने ‘रिपोर्टिङसँगै महत्वपुर्ण काममा प्रेस पास अति आवश्यक पर्छ। पत्रकारहरुको सुरक्षा बीमा तथा सरकारी सेवा सुविधा सुनिश्चित गर्नका लागि प्रेसपासको भुमिका विशेष रहन्छ।’ त्यस्ता कुरालाई ध्यानमा राखेर मुगुमा शिविर सञ्चालन गर्न लागेको बताए। विभागका शाखा अधिकृत केशवराज शर्माका अनुसार प्रेस पास जारी, नवीकरण, पत्रपत्रिका र अनलाईन दर्ता/नवीकरणका लागि राजधानी धाउनु पर्ने दुर्गमका पत्रकारहरुको समस्यालाई मध्यनजर गर्दै विभागले मुगुमै पुगेर सेवा दिन मुगुमा घुम्तिशिविर सञ्चालन गर्न लागेको बताए। विभागले पत्रकारहरुका लागि क्षमता विकास तालिम समेत सञ्चालन गरिने शाखा अधिकृत शर्माले बताए ।

यसअघि विभागको टोलीले साविकको कर्णालीको दुर्गम जिल्लामा घुम्ति शिविर संचालन गरि सकेको छ। विभागको टोलीलाई नेपालगञ्जबाट मुगु प्रस्थान गर्नु पूर्व सम्पादक खान र हाम्रो जनादेशका संचालक बोहराले विमानस्थल पुगेर स्वागत गरेका हुन्।