काठमाडौं। किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिले प्रदेश एको नामाकरण ‘किराँत प्रदेश’ हुनुपर्ने माग गरेको छ। बिहिबार किरात राईहरूको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रदेश एकलाई किरात प्रदेश नामाकरण गर्न माग गरिएको हो।

सरकारले कात्तिक २५ गतेदेखि मङ्सिर ९ गते सम्पन्न गर्दै गरेको १२औँ राष्ट्रिय जनगणनामा बाम्बुले समुदायको कोड नं ४३ को मूल प्रश्नलाई विभागले त्रुटि गरी याम्बुले र दुमीलाई डुमी बनाएको भन्दै उक्त गल्तीलाई तत्काल सच्याउन पनि सरकारसमक्ष माग गरिएको महासचिव दिवस राईले जानकारी दिए। समितिले जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न र किरात विश्वविद्यालय स्थापना गर्नुपर्ने पनि घोषणापत्रमार्फत माग राखेको छ ।

घोषणा पत्रमा विकासका नाममा ऐतिहासिक सांस्कृतिक महत्त्व बोकेको किरात राई जातिको सम्पदा रहेको गढी, किल्ला, दरबारमाथि हुँदै आएको अतिक्रमण बन्द गर्न र तिनीहरूको संरक्षणका लागि सरकारलाई पहल गर्न आह्वान गरेको छ। किरात राईहरूको महान् चाड उभौली/उँधौलीमा देशव्यापी रूपमा कम्तीमा पाँच दिन र आदिवासीले मान्ने सबै राष्ट्रिय चाडमा अन्य राष्ट्रिय चाडपर्वसरह सार्वजनिक बिदा गर्न पनि माग गरिएको छ ।

समितिको आयोजनामा सम्मेलन गत कात्तिक २७, २८ र २९ गते काठमाडौँमा भएको थियो । सम्मेलनमा नेपालसहित १४ देशका प्रतिनिधिको सहभागिता रहेको थियो । सम्मेलनमा १६ बुँदे घोषणापत्र जारी गरिएको छ।